उत्तरी गोरखाको थेराङखोलामा बाढी : बगायो ४ घर र झोलुंगे पुल
काठमाडौं । उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र २ भएर बग्ने थोराङ खोलामा बाढी आउँदा ४ वटा घर र एउटा झोलुंगे पुलमा क्षति पुगेको छ।
आइतबार बिहान आएको बाढीले नाम्रुङका ४ वटा घर बगाएको छ।
नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ।
बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
बाढी आएकोबारे थाहा पाएर स्थानीय भागेर ज्यान जोगाएको उनले बताए। बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ।
खोलाको मुहानतर्फ केही बेर थुनिएर लेदोसहित बाढी आएकोले क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ।
थोराङखोला बूढीगण्डकी नदीमा मिसिन्छ। उक्त खोलामा बाढी आएकोले बूढीगण्डकी किरानाका बासिन्दालाई सावधानी अपनाउन पनि आरूघाट प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्: