चीनको अनुभव : जलवायु परिवर्तनसँगै विज्ञान र प्रविधिलाई कृषिसँग जोडेर उत्पादन वृद्धि र जोखिम व्यवस्थापन
सम्मान त्रिपाठी
काठमाडौं । जलवायु परिवर्तन आज विश्व कृषि क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एक बनेको छ। अनियमित वर्षा, खडेरी, बाढी, असिना, हिमपात तथा अन्य प्राकृतिक विपद्हरूका कारण कृषिमा उत्पादन घट्ने जोखिम दिनप्रतिदिन बढ्दै गएको छ। यस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा अनुभव आदान–प्रदान र सहकार्यको आवश्यकता अझ बढी महसुस भइरहेको छ। यसै सन्दर्भमा चीन सरकारद्वारा आयोजित ‘बेल्ट एन्ड रोड राष्ट्रहरूका लागि कृषि विपद् न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी क्षमता अभिवृद्धि सेमिनार’ मा सहभागी हुने अवसर प्राप्त भयो । यो अवसर मेरो लागि अत्यन्तै ज्ञानवर्द्धक र प्रेरणादायी अनुभव रह्यो।
यस सेमिनारमा विभिन्न देशका सहभागीहरूबीच अनुभव आदान–प्रदानका साथै कृषि विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा आधुनिक कृषि प्रविधिबारे सिक्ने अवसर प्राप्त भयो। कार्यक्रम केवल कक्षाकोठामा सीमित थिएन, अनुसन्धान केन्द्र, कृषि प्रदर्शन फार्म, मौसम विज्ञान केन्द्र तथा आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अवलोकनले सिकाइलाई अझ प्रभावकारी बनाएको थियो।
कार्यक्रमको प्रारम्भ चीनको राष्ट्रिय विकास यात्राबारे भएको प्रस्तुतीकरणबाट भयो। चीनले विगत केही दशकमा गरेको आर्थिक तथा ग्रामीण विकासबारे जानकारी दिँदै वक्ताले एउटा सन्देश विशेष रूपमा प्रस्तुत गर्नुभयो—‘राम्रो अवसरको खोजीमा आफ्नो गाउँ छोड्ने होइन, आफ्नै गाउँलाई राम्रो बनाउने प्रयास गर्नुपर्छ।’ यो विचारले ग्रामीण विकास, स्थानीय अवसर सिर्जना तथा कृषि आधुनिकीकरणप्रति चीनको दीर्घकालीन सोचलाई स्पष्ट रूपमा प्रस्तुत गरेको महसुस भयो।
अर्को महत्वपूर्ण सत्र चीनको लक्षित गरिबी न्यूनीकरण कार्यक्रमसँग सम्बन्धित थियो। यस कार्यक्रममा कृषकलाई आर्थिक सहायता मात्र नभई कृषि पूर्वाधार, सीप विकास, सहकारी प्रणाली, बजार पहुँच तथा आधुनिक खेती प्रविधिमार्फत आत्मनिर्भर बनाउने प्रयास गरिएको जानकारी प्राप्त भयो। यसले कृषि विकासलाई ग्रामीण समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण सिकाइ प्रदान गर्यो।
सेमिनारका विभिन्न प्राविधिक सत्रहरूमा डिजिटल तथा जलवायु–स्मार्ट कृषिबारे विस्तृत जानकारी प्राप्त भयो। आधुनिक मौसम पूर्वानुमान प्रणाली, ड्रोन, इन्टरनेट अफ थिङ्स स्मार्ट सेन्सर तथा आधुनिक सिँचाइ प्रविधिको प्रयोगले कृषकलाई समयमै सूचना उपलब्ध गराई प्राकृतिक विपद्को प्रभाव कम गर्न कसरी सहयोग पुर्याउँछ भन्ने विषय निकै रोचक लाग्यो। विज्ञान र प्रविधिलाई कृषिसँग जोडेर उत्पादन वृद्धि मात्र होइन, जोखिम व्यवस्थापन पनि प्रभावकारी रूपमा गर्न सकिने देखियो।
सेमिनारको सबैभन्दा स्मरणीय पक्ष भनेका विभिन्न स्थलगत अवलोकन भ्रमण थिए। नानिवान इकोलोजिकल धान खेती केन्द्रमा माटो सुधार, पानी बचत गर्ने सिँचाइ प्रणाली, आधुनिक कृषि उपकरण, मल तथा सिँचाइको एकीकृत व्यवस्थापन (फर्टिगेसन) र वातावरणमैत्री कीरा व्यवस्थापन प्रणाली प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भयो। उत्पादन वृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गरिएको देख्दा निकै प्रेरणा मिल्यो।
त्यसैगरी कृषि अनुसन्धान तथा प्रदर्शन केन्द्रहरूमा सुख्खा क्षेत्रका मकैका नयाँ जात, फलफूल तथा तरकारी उत्पादन प्रणाली, सहकारी खेती र फर्टिगेसन प्रविधिको प्रयोग अवलोकन गरियो। अनुसन्धानबाट प्राप्त प्रविधिलाई प्रदर्शन प्लट तथा कृषि विस्तार सेवामार्फत प्रत्यक्ष किसानसम्म पुर्याउने चीनको अभ्यास निकै प्रभावकारी लाग्यो ।
आधुनिक स्याउ बगैंचाको अवलोकन पनि विशेष आकर्षणको केन्द्र रह्यो। त्यहाँ मौसम मापन केन्द्र, स्मार्ट सेन्सर तथा डिजिटल प्रविधिमार्फत असिना, हिमपात र अन्य मौसमी जोखिमको पूर्वानुमान गरी कृषकलाई समयमै सूचना उपलब्ध गराइने प्रणाली हेर्ने अवसर मिल्यो। यसैगरी लुओछुआन मौसम विज्ञान तथा प्रविधि केन्द्रमा मौसम निगरानी, विपद् पूर्वचेतावनी प्रणाली तथा कृषि निर्णयमा मौसम विज्ञानको प्रयोगबारे प्रत्यक्ष जानकारी प्राप्त भयो। यी प्रविधिहरूले प्राकृतिक विपद् आउनुअघि नै तयारी गर्न सहयोग पुर्याउने भएकाले कृषि क्षेत्रमा हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिने देखियो।
सेमिनारको अन्तिम चरणमा कृषि विपद् न्यूनीकरणसम्बन्धी प्रमुख प्रविधिहरूबारे छलफल गरियो र चौथो चीन अन्तर्राष्ट्रिय सप्लाई चेन एक्स्पो अन्तर्गतको हरित कृषि प्रदर्शनीको अवलोकन गरियो। प्रदर्शनीमा स्मार्ट कृषि, हरित प्रविधि, कृत्रिम बुद्धिमत्ता तथा कृषि क्षेत्रमा भइरहेका नवीन अनुसन्धानहरू प्रस्तुत गरिएको थियो। यसले भविष्यको कृषि प्रविधि कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने स्पष्ट चित्र प्रस्तुत गर्यो।
यस सेमिनारबाट नेपालका लागि पनि धेरै महत्वपूर्ण सिकाइहरू प्राप्त भए। हाम्रो भौगोलिक अवस्था र कृषि प्रणाली चीनभन्दा फरक भए पनि केही अभ्यासहरू नेपालमा सहज रूपमा अपनाउन सकिन्छ। उदाहरणका लागि, मौसम पूर्वानुमान तथा विपद् पूर्वचेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउने, जलवायु–स्मार्ट कृषि प्रविधि विस्तार गर्ने, पानीको दक्ष उपयोग गर्ने सिँचाइ प्रणाली प्रवर्द्धन गर्ने तथा अनुसन्धान र कृषि विस्तार सेवाबीचको समन्वयलाई थप सुदृढ बनाउने कार्यले नेपाली कृषकलाई ठूलो सहयोग पुग्न सक्छ।
त्यसैगरी कृषि अनुसन्धान संस्थान, विश्वविद्यालय, स्थानीय सरकार र किसानबीचको सहकार्यलाई मजबुत बनाउँदै प्रदर्शन फार्म तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई विस्तार गर्न सके नयाँ प्रविधि किसानसम्म अझ प्रभावकारी रूपमा पुग्ने देखिन्छ। डिजिटल सूचना सेवा, कृषि परामर्श प्रणाली तथा आधुनिक कृषि प्रविधिको क्रमिक विस्तारले पनि कृषि उत्पादन वृद्धि र विपद् व्यवस्थापनमा सकारात्मक योगदान पुर्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्: