सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
काठमाडौँ। जेनजी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी अभियन्ता मिराज ढुङ्गाना, डा.जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे माग राखेका हुन्।
घटनाको निष्पक्ष न्यायिक छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको समन्वय र सुदृढ पूर्वतयारी तथा स्थानीय तह, प्रशासन र समुदायबिच नियमित संवादको संयन्त्र स्थापना गर्न उनीहरूको माग छ ।
गोली हानेर बल प्रयोग गरिएको विषयमा पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट कार्ययोजना ल्याउन पनि उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।
यस्तो घटनामा कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुने उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ कि नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। कुनै पनि घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति दोषारोपण गर्नु उचित होइन।अपराध गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कारबाही हुनुपर्छ, तर कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्: