Bagmati Samachar Logo

मिटरब्याजविरुद्ध जनकपुर–काठमाडौं पैदल न्याय मार्चको घोषणा

काठमाडौं । मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले मिटरब्याज पीडितको न्यायका लागि जनकपुरदेखि काठमाडौंसम्म पैदल न्याय मार्च गर्ने घोषणा गरेको छ ।
आन्दोलनको केन्द्रीय सचिवालय बैठकले सरकारलाई मिटरब्याज पीडितका समस्या समाधानका लागि ठोस पहल गर्न समय दिँदै न्याय मार्चको कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारले पछिल्लो करिब १०० दिनको अवधिमा मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको निष्कर्ष निकालिएको छ । सरकारले तोकिएको अवधिभित्र पीडितको पक्षमा कुनै ठोस निर्णय नगरे देशव्यापी आन्दोलन सञ्चालन गरिने चेतावनी पनि दिइएको छ ।

घोषित कार्यक्रमअनुसार जनकपुर–काठमाडौं ९पैदल० न्याय मार्च आगामी साउन २६ गते जनकपुरको तिरहुतिया गाछीबाट सुरु हुनेछ ।

आन्दोलनका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरदेखि संघीय राजधानी काठमाडौंसम्म पैदल यात्रा गर्दै मिटरब्याज पीडितको न्यायको मागलाई राष्ट्रिय रूपमा उठाइनेछ । यसमार्फत पनि सरकारले ध्यान नदिए आगामी दिनमा थप सशक्त सडक संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी आन्दोलनले दिएको छ ।

प्रेस विज्ञप्तिमा आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गरिएको छ । बैठकमा संयुक्त जनअधिकार मोर्चाका अध्यक्ष, भगिनी संगठनका प्रतिनिधि, आन्दोलनका केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।