ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडीको रेड कार्ड ब्यान रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष हस्तक्षेप गरेपछि रेड कार्ड पाएका खेलाडिको प्रतिबन्ध फुकुवा भएको खुलेको छ ।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले बोसनिया हर्जगोभिना विरूद्धको खेलमा रेड कार्ड पाएपछि अन्तिम १६ मा बेल्जियमविरूद्ध हुने खेल स्वतः गुमाउने भएका थिए।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर निर्णय पुनरावलोकन गर्न भनेको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
त्यसपछि फिफाले बालोगुनको रेड कार्डपछिको एक खेलको प्रतिबन्धलाई तत्कालका लागि निलम्बन गरिदिएको रोयटर्सले जनाएको छ।
फिफाले विज्ञप्ति जारी गर्दै अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनको खेल प्रतिबन्ध एक वर्षको परीक्षण अवधिसम्मका लागि निलम्बन गरिएको जनाएको छ।
यदि उनले सो अवधिमा यस्तै प्रकृतिको अर्को गम्भीर अनुशासनहीनता दोहोर्याए भने अहिले रोकिएको प्रतिबन्ध स्वतः लागू हुने फिफाले स्पष्ट पारेको छ।
निर्णयपछि ट्रम्प स्वयंले पनि फिफालाई धन्यवाद भनेका छन्।
ुसही निर्णय गर्दै ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद,ु ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। ह्वाइट हाउसले पनि यसमा खुशी व्यक्त गरेको छ।
यससँगै बालोगुन सोमबार बेल्जियमविरुद्ध हुने अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्।
अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकले बालोगन खेल्न पाउने खबरले टोलीमा खुसीयाली छाएको बताएका छन्। यस प्रतियोगितामा ३ गोल गरिसकेका बालोगन अमेरिकाका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्।
सामान्यतया विश्वकपमा रेड कार्ड विरुद्ध अपिल गर्ने व्यवस्था हुँदैन।
कतारका खेलाडी असिम माडिबोले फउल गर्दा उनको प्रतिबन्ध उल्टै बढाइएको थियो।
तर बालोगनको हकमा फिफाले देखाएको यो उदारतालाई लिएर धेरैले सह(आयोजक देश भएको नाताले अमेरिकालाई विशेष सुविधा दिएको आरोप लगाएका छन्।
फिफाको यो निर्णयपछि बेल्जियम फुटबल संघले निर्णयप्रति आश्चर्य व्यक्त गर्दै नियमविपरीत भएको दाबी गरेको छ भने फिफाले ट्रम्पको हस्तक्षेपबारे उठेका प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन।
बालोगुनले बोस्निया–हर्जेगोभिनाविरुद्ध २–० को जितमा आफ्नो तेस्रो गोल गरेका थिए।
तर दोस्रो हाफमा तारिक मुहरेमोभिचको खुट्टामा बुटले प्रहार गरेपछि भीएआर समीक्षा हुँदै उनलाई सिधा रातो कार्ड देखाइएको थियो।
अमेरिकी टोलीका कप्तान पुलिसिकले भने आफूहरूले प्रशिक्षणमा जाँदै गर्दा सामाजिक सञ्जालमार्फत मात्र यो निर्णयबारे थाहा पाएको बताए।
प्रशिक्षक माउरिनो पोचेटिनोले पनि निर्णयको बचाउ गरेका छन्।
ुफुटबलमा ९९.९ प्रतिशत मानिसले यो सजाय अन्यायपूर्ण थियो भन्ने बताएका छन्। विगतमा पनि यस्ता प्रतिबन्ध निलम्बन भएका उदाहरण छन्। त्यसैले यसलाई असाधारण भन्न मिल्दैन,ु उनले भने।
फिफाको यो निर्णयप्रति रोयल बेल्जियम फुटबल एसोसिएसले आश्चर्य व्यक्त गरेको छ। उनीहरूले फिफाको यो कदमले नियमको सिधा उल्लंघन भएको बताएका छन्। बेल्जियमले यसको विरुद्धमा कानुनी विकल्पहरू खोजिरहेको छ।
उनीहरूका अनुसार यसअघि रेड कार्ड पाएका अन्य खेलाडीले प्रतिबन्ध भोग्नुपरेको थियो, तर अमेरिकाको हकमा नियम किन फेरियो भन्ने प्रश्न उठेको छ।
यद्यपि फिफाले अनुशासन संहिताको धारा २७ ले अनुशासन समितिलाई कुनै सजायको कार्यान्वयन पूर्ण वा आंशिक रूपमा निलम्बन गर्ने अधिकार दिएको तर्क गरेको छ।


प्रतिक्रिया दिनुहोस्: