नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ पूर्वराष्ट्रपति : भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा रहेको बताएकी छिन् । मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘युवा पुस्ताका आकाङ्क्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ’, भण्डारीको सुझाव छ ।
विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको बताएकी छन् ।
उनले जनताद्वारा निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान–२०७२ विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक सङ्घर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि भएको पनि बताइन् ।
‘तथापि संविधान कुनै जड दस्ताबेज होइन । त्यसैले यसको मूलभूत मूल्य, मान्यता र अन्तर्वस्तुलाई अक्षुण्ण राख्दै समयको आवश्यकता तथा कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संशोधन गर्न सकिन्छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘तर निकै लामो र गहन छलफल तथा बहसपश्चात् राष्ट्रिय सहमतिको रूपमा संविधानको प्रस्तावना र विभिन्न धारामार्फत अभिव्यक्त गरिएका निष्कर्ष र संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिनु हुँदैन ।’
उनले संविधान संशोधनको सन्दर्भमा बेला–बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्नेमा आफ्नो मत रहेको बताइन् ।
भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ नेताहरूलाई एकै मञ्चमा आमन्त्रण गरी मदनले अघि सारेको विचार तथा नेपाली कम्युनिस्ट आन्दोलनका विविध आयामका बारेमा बिचार गोष्ठीको आयोजना गर्नु अत्यन्तै सान्दर्भिक र समयोचित पहल भएको पनि बताइन् ।उनले भनिनन्, ‘यस्ता विमर्शहरूले जननेता मदन भण्डारीका विचार, दृष्टिकोण र योगदानलाई थप उजागर गर्ने मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनले तय गरेको ऐतिहासिक यात्राको वस्तुगत समीक्षा गर्दै वर्तमान चुनौती र राष्ट्रिय आवश्यकताअनुरूप साझा सोच र जिम्मेवारी बोधको विकास गर्न पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछन् भन्ने मैले विश्वास लिएको छु ।’
उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको पनि बताइन् । ‘यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ । तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन ।’ राजनीतिक आन्दोलनहरूको मूल्याङ्कन दीर्घकालीन ऐतिहासिक विकास क्रम, जनविश्वास, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्याएको योगदानका आधारमा गरिने भन्दै कुनै एक निर्वाचनको परिणामका आधारमा मात्र नहुने भण्डारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्: