Bagmati Samachar Logo

रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु, एक बजेबाट बन्दसत्र सुरु गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र दिउसो १ बजेबाट सुरु हुने भएको छ । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको जानकारी दिए । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले बताए । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको उनको भनाइ छ ।

रास्वपाको महाधिवेशनमा २८ सय– तीन हजार प्रतिनिधि बाट बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो बन्दसत्र सुरु गर्न नसकेको रास्वपाका नेता गणेश पराजुलीले बताए । उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

बन्दसत्र सुरु गर्नका लागि एक बजेसम्मको समय लाग्ने देखिएको उनको भनाइ छ ।

त्योभन्दा अगाडिका सबै प्रक्रिया टुंग्याएर कार्यक्रम अगाडि बढाइसकेको पराजुलीले बताए ।