रास्वपालाई गगन थापाको सुझाव–३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला
काठमाडौं । नेपाली कांग्रेका सभापति गगन थापाले रास्वपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन सुझाव दिएका छन् । आज रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु नहुने बताए ।
रास्वपाजनलाई सम्वोधन गर्दै थापाले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नो दलका नेताहरुलाई भगवान र बा बनाएर गल्ति गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । गल्ती गरेको बेला आफ्ना नेताहरुलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला गर्यौँ, सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि भन्न सक्नुपर्थ्यो । सकेनौँ । हामीले ढिला गर्यौँ । त्यसबाट तपाईँहरूले सिक्नुहोला । आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला । गल्ती गर्दा अरु पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ ।’
थापाले नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी भएको तर, दुस्मन नभएको बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौँ र बन्छौँ पनि, तर तपाईंहरूलाई कमजोर बनाएर होइन, राम्रो कर्म गरेर र जनताको मन जितेर मात्र ।’
थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए । ‘३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला,’ उनले भने । थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्: