रास्वपालाई एमाले नेता ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।
रास्वपाको आजदेखि चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए ।
ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए ।
उनले भने, ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस्।’
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपाली समाजमा प्रचलित उक्ति ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ स्मरण गराउँदै कठिन समयमा राष्ट्रको आधारभूत शक्ति, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकतालाई जोगाउनुपर्ने आवश्यकता औँल्याए ।
‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्ने उक्ति हामीले बिर्सनु हुँदैन’, उनले भने, ‘देश कमजोर हुँदा कसैको पनि अस्तित्व रहँदैन ।’ ज्ञवालीले परराष्ट्र नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितअनुकूल हुनुपर्ने उल्लेख गर्दै राष्ट्रियताको रक्षाका विषयमा सबै राजनीतिक शक्ति संवेदनशील हुनुपर्ने बताए । उनले जनताको जनजीविका, आर्थिक अवस्था, रोजगारी र जीवनस्तर सुधारका विषयमा पनि गम्भीर बन्न आग्रह गरे ।
उनले पछिल्लो समय लोकतन्त्रलाई कमजोर बनाउने वा संस्थामाथि अविश्वास बढाउने प्रवृत्तितर्फ सचेत रहनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
‘लोकतन्त्रलाई बलियो बनाउने दिशातर्फ जान थालेको छौं, त्यसलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिप्रति सजग रहनुपर्छ’, उनले भने । ज्ञवालीले जनताको विश्वास प्राप्त गर्नु ठूलो उपलब्धि भए पनि त्यसलाई परिणाममा रूपान्तरण गर्नु अझ ठूलो चुनौती भएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: