Bagmati Samachar Logo

एमाले बैठकमा चर्काचर्की,केपी ओलीलाई पृथ्वीसुब्बाले भने पार्टी तपाईको प्राइभेट कम्पनि हो ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीबीरुद्ध उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ बोलेका छन् । बैठकमा अ्रध्यक्ष ओली र गुरुङबीच चर्काचर्की परेको छ। शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेका थिए।

‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई के को जिम्मेवारी ? नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै जिम्मेवारी पाइन्छ। यस्तो बेला पुनर्गठन, पुनर्गठन भनेर हिँड्नेहरूलाई पनि अनुशासनको कारबाही हुन्छ ’ भन्ने प्रकारका भाषा प्रयोग गर्दै ओलीले चेतावनी दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका थिए।

गुरुङले ओलीको प्रतिवाद गदै भनेका थिए, ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी होरु एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन, अरू साथीहरूको पनि छैनरु कसलाई दिनुभएको धम्की ।’

दुई नेताबीच चर्काचर्की भएपछि बैठकको माहोल नै फरक भएको नेताहरु बताउछन् ।

बैठकमा चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् । जसमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् ।

ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए ।

आजको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले ओलीलाई साथ दिए । थापाले बैठकमा ‘डिप स्टेट’ ले एमालेको सरकारविरूद्ध षड्यन्त्र गरेको, नेपाली सेना लगायत सुरक्षा अंग त्यसको मतियार बनेको आरोप लगाएका थिए।

थापाको भनाइ भन्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘देशी, विदेशी प्रतिक्रियावादीको घेराबन्दीमा हाम्रो नेतृत्व पर्नुभयो। उनीहरूकै भूमिकाका कारण हामी चुनावमा पराजित भयौं। नेपाली सेनाले सफ्ट कू गरेकै अवस्था हो । हाम्रो नेतृत्वमाथि अझै पनि षड्यन्त्र र घेराबन्दीको सिलसिला जारी छ। हामीले नेतृत्वको रक्षा गर्नुपर्छ ।’

बादको भनाइमा ओलीले समर्थन गरेका थिए । उनले भनेका थिए, ‘बादलजीले भनेको कुरा ठिक हो। उहाँको कुरामा म समर्थन गर्छु। उहाँले पार्टी बैठकमा बोलेका कुरा सही छन्। संसदमा बोलेको कुरा पनि ठिक थियो। किन सच्याइय ।’

उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनले पहिलो विधान महाधिवेशन, दसौं राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टी लोकतान्त्रीकरणको विषय कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए।

उनले आफूले उठाउँदै आएको पार्टी संगठन र नेतृत्व पुनर्गठनको विषयलाई सचिवालय बैठकमा राखेका थिए।

उनले २०७५ सालमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच हतारमा एकता भएको बताएका थिए। हतारमै भएको एकता पनि जोगाउन सकेको भए वामपन्थी तथा कम्युनिस्ट आन्दोलन समृद्ध हुने भन्दै नेतृत्वले त्यो घटनाप्रति आत्मालोचित हुनुपर्ने समेत बताएका थिए।

पृथ्वीसुब्बा गुरूङले पनि अहिलेको परिस्थिति मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए। पार्टी कमजोर अवस्थामा रहेको भन्दै समीक्षा गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
उपमहासचिव लेखराज भट्टले बैठकमा अहिलेसम्मकै सघन छलफल भएको बताए।

उनले भने, ‘आज उपाध्यक्षहरूले राम्रैसँग विषय राख्नुभयो। यसरी छलफल भएको पहिलोपटक होला। खुलेर आफ्नो विचारहरू प्रस्तुत गर्नुभएको छ। लामो छलफल भएको छ। भोलि हाम्रो पालो आउँछ ।’