नेपालमा सभामुख : कोही प्रधानमन्त्री बने कोही राष्ट्रपति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित भए ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा भएको मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । भर्खर सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी काठमाडौँ–९ बाट निर्वाचित भएका थिए ।
कांग्रेस र कम्युनिष्ट बाहिरबाट पहिलोपल्ट सभामुख बन्न सफल १०औँ सभामुख अर्याल बनेका छन् ।
नेपालको संसदीय इतिहासमा प्रतिनिधि सभाले १० जना सभामुख पाएको छ । पहिलो आम निर्वाचन २०१५ सालमा भएको थियो । त्यो निर्वाचनमा नेपाली कांग्रेसले दुइतिहाइ बहुमत ल्याएपछि २०१६ जेठ १३ गते पार्टी सभापति एवं संसदीय दलका नेता बीपी कोइराला प्रधानमन्त्री बने । २०१६ असार १६ गते प्रतिनिधि सभाको पहिलोे बैठक बसेको थियो भने असार १८ गते नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद भट्टराई पहिलो सभामुख चयन भएका थिए ।
करिब डेढ वर्षपछि नै, २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले सैन्य बलमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार अपदस्त गरे, प्रधानमन्त्री र भेटेजति मन्त्रीहरुलाई थुने । संसद विघटन गरे र सभामुख भट्टराईलाई पनि थुने ।
२०४६ सालमा नेपाली कांग्रेस र वामपन्थी पार्टीहरुको नेतृत्वमा भएको जनआन्दोलनको बलमा बहुदलीय व्यवस्था पुनर्स्थापना भयो । भट्टराई, नै अन्तरिम सरकारका प्रधानमन्त्री बने । उनकै नेतृत्वमा नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएको थियो ।
२०४८ सालमा आम निर्वाचन भयो । उक्त निर्वाचनबाट नेपाली कांग्रेसले प्रस्ट बहुमत प्राप्त गर्यो । कांग्रेस नेता तथा मानवअधिकारकर्मी ढुंगाना २०४८ देखि २०५१ असोजसम्म सभामुख भएका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले ८८ सिट सहित पहिलो दल बन्यो । एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । चुनावमा एमाले ठूलो दल बनेपछि कांग्रेस नेता रामचन्द्र पौडेल तेस्रो सभामुखका रूपमा चुनिए । उनी अहिले राष्ट्रपति छन् । पौडेलले २०५१ देखि २०५५ सालसम्म सभामुखको भूमिका निर्वाह गरे ।
२०५६ सालमा भएको आम निर्वाचनमा कांग्रेसको बहुमत ल्यायो । चौथो सभामुख कांग्रेस नेता तारानाथ रानाभाट भए । जेठमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरे पनि तत्कालिन संवैधानिक व्यवस्थाका कारण रानाभाट २०६३ साल बैसाखसम्म सभामुख भए ।
चार बर्षअघि विघटित प्रतिनिधि सभा सातदल र माओवादीको योजनामा भएको दोश्रो जनआन्दोलनको बलमा पुनर्स्थापित भएपछि रानाभाट भने जिम्मेवारी मुक्त भए ।
त्यसपछि सभामुख बन्ने सौभाग्य पहिलो पल्ट कम्युनिष्ट नेताले पाए । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सभामुख बन्न सफल भए । राजतन्त्रको अन्त्य गणतन्त्र संथागत गर्ने संक्रमणकालमा उनी सबैभन्दा बढी , करिब आठ वर्ष सभामुख भए । नेम्वाङ पहिलोपटक २०६३ वैशाख ३० मा सभामुख भएका थिए ।
२०६५ साउन १२ देखि २०६९ जेठ १४ गतेसम्म सभामुख र संविधान सभा अध्यक्ष बन्न सफल नेम्वाङ संविधान सभाको दोस्रो निर्वाचनपछि पनि अर्थात् २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म ती दुवै भूमिकामा रहे । २०७२ साल असोज ३ गते उनकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने नेपालको संविधान जारी भएको थियो ।
छैटौँ सभामुख तत्कालीन नेकपा माओवादीकी ओनसरी घर्तीमगर बनिन् । २०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म सभामुखको जिम्मेवारीमा रहिन् । संविधान जारी गर्ने बेला उनी उपसभामुख थिइन् । पछि उनी सभामुख बनिन् । नेपालको इतिहासमा उनी पहिलो महिला सभामुख बनिन् ।
यसैगरी सातौँ सभामुखमा तत्कालीन नेकपा माओवादीकै कृष्णबहादुर महरा निर्वाचित भए । २०७४ फागुन २७ देखि २०७६ असोज १४ सम्म महरा सभामुखको भूमिकामा रहे । महरा सभामुखमा बहाल रहेकै बेला सचिवायलकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि पदमुक्त भएका थिए । यद्यपि अदालतले उनलाई सफाइ दिइसकेको छ ।
महरा पदमुक्त भएपछि तत्कालीन माओवादीबाटै अग्निप्रसाद सापकोटा आठौँ सभामुख बन्न सफल भए । उनले २०७६ माघ १२ देखि २०७९ सम्म सभामुखको भूमिका निर्वाह गरे ।
२०७९ को आम निर्वाचनपछि एमालेका नेता देवराज घिमिरे नवौँ सभामुख बने । भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भयो । फागुन २१ मा सम्पन्न निर्वाचनमा घिमिरे झापा–२ मा आफ्नै सभामुख कार्यकालमा उपसभामुख रहेकी इन्दिरा रानासँग पराजित भए ।
प्रतिक्रिया दिनुहोस्: