Bagmati Samachar Logo

रक्षालाई भावनाको चेतावनी– खबरदार, फेरि रगत बग्यो भने हामी कहिल्यै माफ गर्नेवाला छैनौँ

काठमाडौं । जेन–जी नेतृ रक्षा बमले दिएको अभिव्यक्तिप्रति अर्की जेन–जी भावना राउतले आपत्ति जनाएकी छन् । बमले आइतबार राति सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणालाई चुनौती दिएकी छिन् ।

‘उसले उठाएका मुद्दाहरू जायज छन् वा छैनन् भनेर अनि उसलाई समर्थन गर्ने कि नगर्ने भन्ने चाहिँ छलफलको विषय हुन सक्छ । तर, त्यो भाइ आन्दोलनमा आएको थिएन त्यसैले उसले यो माग्न पाउँदैन भन्नु चाहिँ लोकतन्त्रको भद्दा मजाक हो’, उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

यस्तो छ उनको भनाइ

लोकतन्त्रको रक्षा गर्छु भन्ने साथीहरू नै लोकतन्त्रमाथि धावा बोल्दै हुनुहुन्छ । कुनै हातहतियार बिना सभा सम्मेलन गोष्ठी गर्न पाउने हरेक नागरिकको अधिकार हो अनि लोकतन्त्रमा महत्वाकांक्षी पनि हुन पाइन्छ। उसले उठाएका मुद्दाहरू जायज छन् वा छैनन् भनेर अनि उसलाई समर्थन गर्ने कि नगर्ने भन्ने चाहिँ छलफलको विषय हुन सक्छ। तर त्यो भाइ आन्दोलनमा आएको थिएन त्यसैले उसले यो माग्न पाउँदैन भन्नु चाहिँ लोकतन्त्रको भद्दा मजाक हो ।

म उसले मागेको मुद्दामा सहमत छैन तर उसले माग्न पाउने अधिकारको रक्षा चाहिँ आफू जीवित हुँदासम्म गर्नेछु । तर खबरदार, यो माटोमा अर्को आन्दोलनको नाउँमा रगत बग्यो भने हामी कहिल्यै माफ गर्नेवाला छैनौं । शहीदको रगत पुगिसक्यो यो माटोलाई, अब निर्वाचनमा पसिना बगाउने बेला आएको छ ।

मिराज भाइलाई बुझ्न र आफ्नो विवेक प्रयोग गर्न चाहिँ अनुरोध छ । इतिहासमा जेनजेडको नाम मजाक नबनाइदिनुस् । अब निर्वाचनमा जानु नै पर्छ, यो हाम्रो सबैभन्दा शक्तिशाली हतियार हो । तपाईंले मागेको संविधान संशोधनका लागि एउटा नागरिक समिति बनाउने अनि त्यो समितिले देशभरिबाट सुझाव संकलन गर्ने भनेर त हामीले हाम्रो म्यान्डेटमै पास गराएका छौं । सम्झौतामा यो कुरा समावेश भएको छ ( ९० दिनभित्र रिपोर्ट पेश गर्ने संयन्त्र बन्ने भनिएको छ ।

कि आज भोलि चाहिएको हो तपाईंलाई परिणाम रु मुलुक परिवर्तन हुन समय लाग्छ । परिवर्तनको रोडम्याप सडकले दिने हो तर संविधान छुने अधिकार हाम्रा जननिर्वाचित सांसदहरूलाई मात्रै छ । त्यसैले सबै फोकस निर्वाचनमा दिनुस्। याद गरौं, २०४६ को जनआन्दोलनले सडकमा पञ्चायत ढाल्यो तर त्यसपछि २०४८ को निर्वाचनमा गएर नयाँ नेपाल बन्यो। जनआन्दोलन दोस्रोले २०६२र६३ मा राजालाई घुँडा टेकायो तर गणतन्त्र स्थापना गर्न २०६४ को संविधानसभा निर्वाचनमा जानु पर्‍यो। सडकले दिशा देखाउँछ तर गन्तव्यमा पुग्न निर्वाचन अनिवार्य हुन्छ। निर्वाचन बहिष्कार गर्नु भनेको आफ्नो हतियार आफैं फाल्नु हो ।

निर्वाचन प्रणालीमा सुधारका माग गरौं। मतदान केन्द्रमा निगरानी बढाऔं,बेजिल्ला मतदान को व्यवस्था माग गरौ, कुनै पनि धाँधली र मतपेटिका प्रभावमा कडा कारबाही होस्, निर्वाचन आयोगले पारदर्शी प्रक्रिया अपनाओस्। राम्रा उम्मेदवारहरूलाई खुलेर सहयोग गरौं अनि पुरानाको खेलमा नै पुरानालाई जितेर बिदा गरौं ।

अनि अन्तिममा यो मुलुकमा ५२।३५ जनसंख्या भएका महिलालाई तथानाम भन्ने काम चाहिँ बन्द गरौं। अर्को ूस्थापितू नबन्नुहोला किनकि हामीले प्रश्न गर्न अब जानिसकेका छौं। सार्वजनिक अभिव्यक्ति दिँदा अलि जोशसँग होश राख्न अनुरोध। नत्र ती नै चुरा लगाएका हातले निर्वाचनमा देखाइदेलान ।