Bagmati Samachar Logo

चितवनलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात

कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई हराएर विजयी सुरुवात गरेको छ । दोस्रो संस्करणमा भने लुम्बिनीले विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । पहिलो संस्करणमा पनि लुम्बिनीको एक मात्र जित चितवनविरुद्ध नै थियो । चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई हराएको थियो ।

चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८।३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीका लागि गुल्बदीन नइबले २४ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ३९, सन्दीप जोराले २८, डासी शर्टले ११ र दीलीप नाथले १० रन बनाए ।

चितवनका लागि रिजन ढकालले दुई र सोहेल तनवीरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो । चितवनका लागि बोपाराले ५५ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए ।

यसैगरी कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहराले १० रन जोडे । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले तीन तथा अभिनाश गौतम र गुल्बदीन नइबले दुई–दुई विकेट लिए ।