Bagmati Samachar Logo

एनपीएलमा काठमाण्डूको विजयी सुरुवात

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डू गोखार्जले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा काठमाण्डूले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्‍यो । जनकपुरले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्‍यो ।

काठमाण्डूका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोहन सिम्पसनले १३ रन बनाए । जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशोर महतो, ललितनारायण राजवंशी, जान निकोल लफ्टी इटोन र सञ्जय कृष्णमुर्तीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । जनकपुका लागि आसिफ शेखले ४१ बलमा ६ चौका र १ चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान दिए ।

यसैगरी मयन यादवले अविजित ३४ र लाहिरु समराकोनले २२ रन बनाए । काठमाण्डूका लागि मिलिन्ड कुमारले तीन तथा शाहव आलम, सन्तोष यादव र कप्तान करण केसीले समान एक विकेट लिए ।