काभ्रेको रोशी खोलामा बाढी, एक जना वेपत्ता
काठमाडौँ । काभ्रेको रोशी खोलामा बाढी आएको छ । वैशाख २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार अपरान्ह परेको वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो ।
सोमबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म परेको अविरल वर्षापछि कुलोमा बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्। उनको अवस्था हालसम्म पनि अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।
साढे ४ बजेतिर पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रेका एसपी कोमल शाहले जानकारी दिए।
बाढीले विशेषगरी वडा पनौति नगरपालिकाका नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० ज्यादा प्रभावित भएको उनले बताए।
बाढीले रोशी गाउँपालिका १२ माम्तीस्थित सडक बगाएको हो । अहिले राजमार्गमा गुडिरहेका गाडीहरूलाई सुरक्षित स्थानमा रोकेर राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले बताए ।
सडक सुचारु गर्नको लागि पहल भइरहेको उनले बताए । यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही सवारी साधनलाई सिन्धुलीतर्फ नै फर्काइएको उनले बताए । बाढीको बहाव घट्ने क्रममा रहेको समेत उनले बताए । यात्रुहरूको व्यवस्थापनका लागि अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको समेत शाहले बताए ।
प्रतिक्रिया दिनुहोस्: