चेक बाउन्सको जाहेरीमा काठमाडौं प्रहरी परिसरले दुःख दिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । चेक बाउन्सको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसरले सेवा ग्राहीलाई दुःख दिने गरेको भन्दै कानुनका विद्यार्थीहरूले गृहमन्त्री रमेश लेखकलाई भेटेर लिखित ध्यानाकर्षण गराएका छन् ।
विद्यार्थीहरुले जाहेरी कुनै पनि प्रहरी ईकाइले दर्ता गर्नुपर्नेमा काठमाडौंमा अन्य प्रहरी ईकाइले चेक बाउन्सको जाहेरी नलिने गरेको र परिसरले दुःख दिने गरेको गुनासो गरेका छन् ।
विद्यार्थीहरू चेतन जेठारा, सुविना खनाल, हरि पौडेल, अभिषेक बोहरा र सुशान्त शुक्लाले गृह मन्त्रालयमै पुगेर गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरूले चेक अनादर र चेक बाउन्स फौजदारी कसुर भएको उल्लेख गर्दै सरकारवादी फौजदारी कसुरमा नजिकैको प्रहरीमा उजुरी गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
काठमाडौंमा प्रहरी परिसरले मात्र उजुरी तथा जाहेरी लिने भएकाले यो कसुरका जाहेरी दर्तामा प्रहरी परिसरले दुःख दिने, जाहेरी दर्ता गर्न नमान्ने जस्ता समस्याहरू देखिएको उनीहरूको भनाइ छ । १० लाखभन्दा माथिको रकममा स्रोत देखाउनुपर्ने समेत कारण देखाएर प्रहरीले दुःख दिने गरेको उनीहरूले बताएका छन् । कहिलेकाहीँ जाहेरी दर्ता नै नगर्ने र म्याद गुज्रेको भनेर टार्ने गरेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: