Bagmati Samachar Logo

यु-२० साफ च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

बंगलादेशले पहिलोपटक यु-२० साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा घरेलु टिम नेपाललाई ४-१ गोअन्तरले हराउँदै बंगलादेशले उपाधि उचालेको हो । योसँगै बंगलादेशले सन् २०१७ को फाइनलमा नेपालसँग ब्यहोरेको हारको बदला पनि लिएको छ ।

खेलमा सुरुवाती अग्रता बंगलादेशले नै लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । मिराजुलले डि एरिया बाहिरबाट प्रहार गरेको फ्रिकिक दोस्रो बारमा लाग्दै सिधै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको ५४औँ मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि खेलको ७०औँ मिनेटमा रब्बी राहुलले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए । रब्बीले मिराजुल इस्लामको पासमा गोल गरेका हुन् ।

खेलको ७९औँ मिनेटमा नेपालका लागि समिर तामाङले गोल गर्दै बंगलादेशको अग्रता ३-१ मा झारेका थिए । तर, दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पियाश अहमद नोभाले गोल गर्दै बंगलादेशलाई ४-१ गोलअन्तरको जित दिलाए ।

बंगलादेशलले साफ च्याम्पियनसिपको इतिहासमा चौथोपटक फाइनल खेलेर उपाधि जितेको हो । यसअघि तीनपटक फाइनल पुगे पनि बंगलादेशले उपाधि उचाल्न भने सकेको थिए । यसपटक भने नेपाललाई घरेलु मैदानमै पराजित गर्दै बंगलादेश उपाधि उचाल्न सफल भयो ।

बंगलादेश सन् २०१७ को फाइनलमा नेपालसँग स्तब्ध भएको थियो । तेस्रोपटक फाइनल पुगेको नेपाल उपाधिमा ह्याट्रिक गर्न भने चुक्यो । नेपालले सन् २०१५ र  सन् २०१७ मा यु-२० साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।