Bagmati Samachar Logo

मोदीसँग सौहार्द वार्ता भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सम्बन्ध र सद्भाव बढाउनमा उल्लेखनीय भूमिका रहेको बताएकी छन् ।

भारतको पाँचदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताइन् ।

मन्त्री डा राणाले भनिन्, ‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शनसमेत गरेको मैले विश्वास लिएकी छु ।’

उनले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरूमा कुराकानी भएको जानकारी दिइन् ।

भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट वार्ता गरेकी थिइन् ।  भेटका क्रममा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य गर्नेबारे छलफल भएको बताइन् ।

साथै, भेटका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताइन् ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि गत आइतबार नयाँ दिल्ली गएकी थिइन् । यो उनी परराष्ट्रमन्त्रीमा नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । उनी बिहीबार नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौं आइपुगेकी हुन् ।