गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नछोड्ने बताएका छन् ।
चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको होलीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’
रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताएका छन् ।
लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए । उनले भने, ‘अब जुनसुकै विषयमा जोकोही जोडियो भने पनि जोगिनेवाला छैन, परिणाम हेर्दै जानुस् ।’
गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे । उनले भने ‘केही परिणाम तपाईंहरूले देखिसक्नुभयो, केही देखिनेवाला छन् । सुशासनको रफ्तार कसैगरी रोकिनेवाला छैन ।’
उनले नागरिकको सेवा गर्नकै लागि सरकारमा गएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: