प्रधानमन्त्री प्रचण्डले पाए संसदबाट तेस्रोपटक विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन् । सत्ता गठबन्धन फेरबदल भएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो एकै कार्यकालमा तेस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए । सो प्रस्तावमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले समर्थन जनाए ।
प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २६८ मध्ये १५७ मत पर्यो भने विपक्षमा ११० मत परेको थियो ।कांग्रेस, राप्रपालगायतका दलले विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी भने तटस्थ बसेका छन् । पक्षमा परेको मत बहुमत भएकाले सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको प्रस्ताव पारित भएको घोषणा गरे ।
विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन हुनुअघि सबै दलले सो प्रस्तावमाथिको छलफलमा भाग लिएका थिए । सो क्रममा दलहरूबीच घोचपेच पनि चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्: