Bagmati Samachar Logo

पूर्व मिस नेपाल माल्भिका सुब्बाले श्रीमानसँग गरिन सम्बन्ध विच्छेद

काठमाडौ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेमी छन् । उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेकाे बताएकी छन् । आफ्नो दाम्पत्य जीवनमा आएको उतारचढावबारे उनले अभिनेत्री प्रियंका कार्कीको पोडकाष्ट ‘द फोर्थ ट्राइमेस्टर’मा पहिलोपल्ट खुलेर बताएकी छन् ।

आफूले छोरा दुई वर्षको हुँदादेखि नै घर छाेडेको भए पनि चार वर्षपछि मात्र सम्बन्ध विच्छेद गरेको उनले बताएकी छन् ।

माल्भिकाले छोराका लागि हेरिदिए पुग्ने भनेर सम्बन्ध विच्छेद गर्दासमेत आफूले केही सम्पत्ति नलिएको बताएकी छन् । ‘मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ । मलाई केही चाहिँदैन बच्चाको लागि मात्र हेर्देऊ भनेँ’, उनले भनेकी छन्, ‘हामीले समझदारीमै छोराको को–कस्टडी गर्ने निर्णय लियौँ । सम्बन्ध विच्छेद गरेर पछुताएको होइन, तर त्यतिबेला मैले रित्तो महसुस गरेँ ।’

पूर्वपति रियाज र उनको परिवारबारे पनि उनले आफ्ना धारणा सार्वजनिक गरेकी छन् । रियाज छोराको राम्रो बाबु भए पनि राम्रो श्रीमान् र पार्टनर भने नभएको माल्भिकाले भनेकी छन् ।

सासूससूराबारे पनि उनले त्यस्तै धारणा राखेकी छन् । उनीहरूलाई राम्रो बाजेबजै भनेकी छन् । आमाबुवाको झगडाले बच्चालाई कस्तो प्रभाव पर्छ भन्ने आफूले बाल्यकालमा भोगेकाले श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुबा र परिवारबाट कहिल्यै पनि नछुट्टाउने आफ्नो सोच रहेकाे उनी बताउँछिन् ।

सो अन्तर्वार्तामा माल्भिकाले आफू गर्भवती भएपछि नै श्रीमान् रियाजसँगको सम्बन्ध बिग्रिँदै गएको र नसुल्झिएको बताएकी छन् । ‘म गर्भवती हुनुभन्दा केही अघिसम्म जीवन राम्रै चलिरहेको थियो । गर्भवती भएपछि सम्बन्ध झन् बिग्रिँदै गयो । उनले मलाई समर्थन गर्दैनथे भनेर म भन्दिनँ । उनी निकै राम्रो बुबा हुन् । तर पार्टनर र श्रीमानको रूपमा भने मैले धेरै साथ र सहयोग पाइनँ’, उनको भनाइ छ ।