मन्त्रिपरिषद्ले गर्यो सचिवहरूको सरुवा, बागमतीको प्रमुख सचिवमा घनश्याम उपाध्याय
काठमाडौं । संघीय सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा भर्खरै काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई पठाइएको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको व्यापक सरुवा गरेको छ । सिंहदरबार स्रोतका अनुसार मन्त्रिपरिषद्ले १३ जना सचिवको सरुवा गरेको हो । भर्खरै सचिव भएका दुई जनाको भने पदस्थापन भएको हो ।जसमा उपाध्यायको बागमती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको प्रमुख सचिव बनाएको छ ।
स्रोतले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई राष्ट्रिय वित्त आयोगमा सरुवा गरिएको छ । आयोगका सचिव भरतमणि सुवेदीलाई भने पर्यटन मन्त्रालयमा तानिएको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयलयका सचिव सुर्यप्रसाद गौतमलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । निर्वाचन आयोगमा लामो समय बसेका गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । भूमि व्यवस्था मन्त्रालयका सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका सचिव तोयम रायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । स्रोतका अनुसार रायलाई प्रधानमन्त्री कार्यालयको तथ्यांक कार्यालयमा सरुवा गरिएको हो । उक्त कार्यालयमा रामप्रसाद थपलिया रहेका थिए । थपलियाको अवकाश भएकोले रायलाई जिम्मेवारी दिएको बताइएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको प्रमुख सचिव रहेका गोपी खनाललाई पनि प्रधानमन्त्री कार्यालयमा तानिएको छ । लामो समयदेखि रिक्त रहेको उद्योग सचिवमा भने बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई सरुवा गरिएको छ । गण्डकी प्रदेशको प्रमुख सचिव रहेका रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: