सीता दाहाल : जसले युद्ध, शान्ति र सन्तान वियोग भोगेर पुष्पकमललाई प्रचण्ड बनाइन्
काठमाडौं । २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा सीता दाहालको योगदान छ । उनको योगदान कुनै नेता अथवा सेनाको कमाण्डर भन्दा कम थिएन् । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती उनी जनयुद्धका हरेक समयम प्रचण्डसँगै थिइन् ।
उनी माओवादीको सल्लाहकार थिइन् । माओवादीले जनयुद्धकालमा प्रचण्डलाई हेडक्वार्टर भन्ने गर्थ्यो । त्यही हेडक्वार्टरसँग जोडिएकाले उनी पनि माओवादीका हरेक निर्णयमा सहभागी हुने गर्थिन् ।
माओवादी पार्टीले जनयुद्ध गर्दा कैयौँ समयमा अन्तर्संघर्ष भए । तीन अन्तर्संघर्षमा माओवादी नेताहरू र तिनका परिवार पनि जोडिएका हुन्थे । अझ विशेष गरेर प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादलका परिवारहरूबीच सम्बन्ध घनिष्ठ नै थियो । तर पार्टीमा हुने अन्तर्संघर्षमा यी नेताहरूका परिवार पनि जोडिन्थे ।
प्रचण्ड र बाबुरामबीच अन्तर्संघर्ष हुँदा अथवा अन्य नेताहरूबीच अन्तर्संघर्ष हुँदा सीता दाहाल पनि जोडिनु स्वाभाविक हुन्थ्यो । पार्टीमा विवाद हुँदा नेताहरूले कहिले काँही पारिवारिक भेटघाट राखेर पनि समस्या समाधान गर्थे ।
पार्टीमा अन्तर्संघर्ष हुँदा नेताहरू एकआपसमा आरोप प्रत्यारोप पनि गर्थे । यस्तो समयमा कहिले काँही सीता दाहालले प्रचण्डलाई सम्झाउने गरेको ुजनयुद्धुमा हेडक्वार्टरमा रहेर काम गरेका सूर्य सुवेदी पथिक बताउँछन् । उनले भने, ‘जनयुद्ध भरी उहाँको भूमिका उच्च रह्यो । पार्टीभित्र २०५४–०५५ मा भएका अन्तर्संघर्षमा पार्टी फुट्नु हुँदैन । कसैलाई सक्ने गरेर कारबाही गर्नुभएन र मिलेर जानुपर्छ भन्दै समन्वयकारी भूमिका खेल्नुभयो । जतिसुकै दुःख कष्ट पनि झेल्नुभयो । एक गृहणी मात्र नभएर राजनीतिक उत्तरदायित्वबोध उहाँमा थियो ।’
कैयौँ मान्छेहरू संघर्षको समयमा आत्तिने, डराउने गर्छन् तर सीता दाहालले जनयुद्धको त्यस्तो कठिन समयमा पनि साहसका साथ पार्टी र नेतृत्वलाई साथ दिएको सुवेदी बताउँछन् ।
प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट विसं २०१९ चितवन भरतपुरको शिवनगर बसाइँसराइ गरेको थियो । प्रचण्ड र सीताबीच २०२६ वैशाखमा मागी विवाह भएको हो ।
माओवादीले ुजनयुद्धु सुरु गरेपछि प्रचण्ड र सीता गिरफ्तारीबाट बच्न काठमाडौंमा धेरै ठाउँमा डेरा सारेर बसे । उनीहरूसँगै तीन छोराछोरी पनि थिए ।
माओवादीले ुजनयुद्धु सुरु गर्नुभन्दा पहिला नै सीता दाहाल अलिअलि राजनीतिमा २०३७ सालबाट सक्रिय हुन थालेकी थिइन् । उनी पार्टीको चितवनको जिल्ला पार्टीका गतिविधिमा चासो राख्न थालेकी थिइन् ।
सीता दाहालले ुजनयुद्धुको दिनलाई यसरी सम्झेकी छन्, ‘म चितवनको समथर भागमा जन्मिएकाले पैदल हिँड्नका लागि लालायित हुँदैन थिएँ । म ४० वर्षको हुँदा जंगल र पहाडी भूभागमा कसरी हिँड्नुपर्छ भनेर सिक्नुपर्यो । कहिले काँही हप्तौँसम्म हिँड्नुपरेको थियो ।’
उनी प्रचण्डको घरपरिवार मात्र सम्हालेर बसिनन् । उनको जीवन पनि छापामार शैलीको भयो । ुजनयुद्धु सुरु भएपछि नेपालमा बस्न कठिन भयो । २०५३ सालमा माओवादीले हेडक्वार्टर भारतको सिलगुढी सार्यो । सीता दाहाल पनि २०५३ सालमा सिलगुडी गएकी थिइन् । त्यसपछि उनका दिन पनि माओवादी ुजनयुद्धुमा होमिएका नेताहरूको भन्दा कम दुस्ख कष्टकर र रोमाञ्चकारी छैन ।
युद्धभरि माओवादीको बसाइ छापामार शैलीको थियो । त्यसमा सीता दाहाल पनि पर्थिन् । जनयुद्धुको नेतृत्व गरेका प्रचण्डको नेतृत्व सीता दाहालले गर्ने गरेको माओवादी नेताहरू बताउँछन् । कैयौँ अन्तर्संघर्षको समयमा सीता दाहालले समन्वयकारी भूमिका खेल्दा ठूलाठूला दुर्घटना हुनबाट बचेको सुवेदी बताउँछन् । सुवेदीले भने, ‘एकपटक बाबुरामजीसँगको अन्तर्संघर्ष उत्कर्षमा पुगेको थियो । बाबुरामलाई आधार इलाकामा जनमुक्ति सेनाको घेरामा राखेका थिए । त्यो समयमा उहाँले समन्वयकारी भूमिका खेल्नुभयो । पार्टी विभाजन गर्नुहुँदैन । उहाँ पनि माओवादी नेता हो । सच्याउनुपर्छ । गलत बाटोमा जाने निर्णय गर्नुहुँदैन । मिलेर जानुपर्छ भन्नुभयो ।’
सीता दाहालको जीवन कहिल्यै पनि सहज तरिकाले बितेन । १० वर्षे जनयुद्धमा जति दुःख कष्ट भोगिन्, त्योभन्दा बढी कष्टकर र पीडादायी भयो शान्ति प्रक्रियामा आएपछि । उसो त सीता दाहालका श्रीमान् प्रचण्ड तीनपटक प्रधानमन्त्री बने । दुईपटक उनी नेपालको पहिलो महिला पनि बनिन् । तर, तेस्रोपटक उनले जीवनभरि सुख दुस्खमा साथ दिएका श्रीमान् प्रधानमन्त्री बनेको पनि थाहा नपाउने भइसकेकी थिइन् ।
२०७० चैतमा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भयो । जेठी छोरीको उपचारमा पनि दाहाल परिवारले कुनै कसर बाँकी छोडेनन् । तर पनि छोरी ज्ञानुलाई बचाउन सकेनन् । उनले ुजनयुद्धुबाट शान्ति प्रक्रियामा आएको छोटो समयमा नै छोरी गुमाएको पीडा भोग्नुपर्यो ।
२०७४ साल मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भयो । चुनावको समयमा प्रचण्ड झापामा थिए । त्यो दिन सीता दाहाल भने काठमाडौंमै थिइन् । छोराको निधनको खबरले स्तब्ध बनेर ढलेकी सीता दाहाल त्यसपछि खासै सार्वजनिक कार्यक्रमा देखिन छोडिन् । उनको स्वास्थ्यमा त्यही समयदेखि समस्या देखिन थाल्यो । उनी प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोगले पीडित बनिन् । जसका कारण हिँड्न, बोल्न र निल्नसमेत कठिन हुन थाल्यो । उनी यही कारण लामो समयदेखि हिँड्न नसक्ने बनिन् । ४ असार २०७५ प्रचण्ड सीताको उपचार गराउन सिंगापुर गए । त्यही वर्ष पुनस् उपचारका लागि १० असोजमा सिंगापुर लगेका थिए ।
सीताको उपचार सिंगापुरको एमबी एलिजाबेथ अस्पतालमा गराइएको थियो । सिंगापुरमा उपचारपछि दाहालको स्वास्थ्य अवस्थामा सुधार आएको थियो । उनलाई सिंगापुरमा वाटरथेरापि गरिएको थियो ।
२०७५ चैत ३ गते सीतालाई उपचारका लागि अमेरिका लगिएको थियो । अमेरिकामा उनको उपचार बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा भएको थियो ।
उनको उपचार भारतको मुम्बईस्थित न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा पनि भएको थियो । तर, उनको स्वास्थ्यमा खासै सुधार हुन सकेन । क्षणिक लाभ भए पनि उनलाई रोगले च्याप्दै लगेको थियो । पछिल्लो समय उनलाई नेपालका विभिन्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । आज उनको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । आजभन्दा ६ वर्ष पहिला उनका छोरा प्रकाश दाहालको निधन पनि त्यही अस्पतालमा भएको थियो ।
सीता दाहाललाई सरकारले संविधान दिवसको अवसर पारेर २०७८ सालमा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषण प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: