Bagmati Samachar Logo

आफ्नो काम गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, शरणार्थी प्रकरणबारे आशंका गरिरहनु जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् ।

सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशङ्का गरिरहनु आवश्यक नभएको बताएका हुन् ।

‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,’ प्रचण्डले भने ।

नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको उनले जानकारी दिए ।

‘आशङ्का गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यस कारण यो विषयमा द्विविधा हुनुपर्ने, आशङ्का गर्नुपर्ने कारण छैन,’ प्रचण्डले भने ।

सोसम्बन्धमा विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताए ।

तीन दलका शीर्ष नेताहरूबीच शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने सहमति भएको पनि उनले बताए । प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको उनको भनाइ छ ।

‘प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौँ प्रहरीलाई । प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन,’ प्रचण्डले भने ।