Bagmati Samachar Logo

भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर खाँण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण भाग्नसक्ने आशंकामा प्रहरीले जरूरी पुर्जी थमाएर पक्राउ गरेको छ । यसअघि पक्राउ परेकाहरूले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएको थियो । प्रहरीले खाँणलाई निगरानी गरिरहेको थियो ।

उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिदा सम्म ढिला हुने देखेर जरुरी पुर्जी थमाएर पक्राउ गरेको हो । एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाँण पनि लुक्न वा भाग्न सक्ने आशंकामा नै जरूरी पुर्जी थमाएर पक्राउ गरेपछि मात्र अदालती प्रक्रियामा पुग्ने भएको छ ।

‘अदालतमा पुर्जी लिन जाँदा त्यो कुरा बाहिरिन सक्ने र उनलाई पक्राउ गर्न गाह्रो हुने भएकाले प्रहरीले पहिला जरुरी पुर्जी थमाएर पक्राउ गरेको बताइन्छ ।

जरूरी पुर्जी लिएर प्रहरी टोली उनको मैजुबहालस्थित निवासमा पुगेको थियो। प्रहरी घरमा आएको थाहा पाएपछि खाण चुकुल लगाएर केहीबेर घरभित्रै बसेका थिए।

खाँणलाई पक्राउ गरेर अहिले उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकु ल्याइएको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ।

कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ। आजरभोलि अरू थप मानिसहरू पनि पक्राउ पर्न सक्ने प्रहरीले बताएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेमा खाँण उच्च राजनीतिक नेता हुन् ।