Bagmati Samachar Logo

ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने कसैको दबाबमा पदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा आफू दबाबमा नपर्ने बताएका छन्।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो ।

भेटको क्रममा दुईपक्षबीच भुटानी शरणार्थीकै विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘प्रक्रिया, पद्दति र ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुन्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट बोल्डली अगाडि गइन्छ,’ उनले भने, ‘अस्ती पनि यही विषयमा कन्सर्न थियो। आज पनि यही विषयमा कन्सर्न राख्नुभयो। मैले जनरल कुरा भनेको छु।’

‌ओलीले टोपबहादुर(रामबहादुरहरूलाई बचाउ भनेका हुन् भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने,‘त्यस्तो बचाउ भनेर भन्न सक्ने कुरा त भएन नी। प्रधानमन्त्रीसँग कुरा गर्दाखेरि बचाइदेउ भन्न त कसैले सक्दैन नी।’

तपाईं दबाबमा पर्नुहुन्न ? भन्ने प्रश्नमा उनले भने,‘पर्दिनँ, पर्दिनँ’

यस्तै एमाले अध्यक्ष ओलीले पनि रायमाझी कहाँ भएको आफूलाई जानकारी नभएको पनि बताए।

अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए।

‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरारु केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’

एमाले सचिव रायमाझी अहिले फरार छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको प्रकरणमा उनको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।

उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रचण्डओलीबीच दोस्रो पटक वार्ता भएको हो।