गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त
हेटौंडा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका छन् ।
पुस १० को सत्तागठबन्धनमा भएको फेरबदलले गर्दा पाण्डे मुख्यमन्त्री हुन पाएनन् । पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय ललका नेता खगराज अधिकारी माओवादीले समर्थन फिर्ता लिएसँगै करिब साढेतीन महिना सरकारको नेतृत्व गरेर बाहिरिएका छन् ।
आफ्ना पार्टीका नेताको पक्षमा अडान नलिई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले सुरेन्द्रलाई चुनावमा गरेको वाचा पूरा गरेका छन् ।
गत मंसिरको चुनावमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पाण्डे गोरखा २ (ख) बाट प्रदेशसभा छिरे । गठबन्धनको चुनावी कोणसभामा प्रचण्डले कार्तिक १३ गते भनेका थिए, ‘सुरेन्द्रजी प्रदेशमा जाने हुनुभयो । उहाँलाई मुख्यमन्त्री बनाउने भन्ने सल्लाह शेरबहादुरजीसँग भयो । मलाई लाग्छ– उहाँ चुनाव जितेपछि मुख्यमन्त्री बन्ने नजिकै हुनुहुन्छ ।’
अन्त आज पाण्डे मुख्यमन्त्री बनेका छन् । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी आठ (सभामुखसहित) राप्रपाका दुई र एक जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद छन् । पाण्डे माओवादी, नेकपा एसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: