Bagmati Samachar Logo

कम्युनिष्ट पार्टी स्थापनाका ७४ वर्ष : ९ पटक ६ जना कम्युनिष्ट प्रधानमन्त्री बने

काठमाडौं । १०९ सिटका लागि २०१५ सालमा भएको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले ४ सिट मात्रै जितेको थियो ।  कम्युनिष्टले संसदीय निर्वाचनमा भाग लिएर ४ सिट जितेर संसदमा पुगेका थिए ।

२०१७ साल पुस १ मा महेन्द्रले कु गरेर निर्दलीय पञ्चायती व्यवस्था लादिएपछि लामो समयसम्म नेपालमा दलीय आधारमा निर्वाचन भएन ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास जुट र फुटको घटनाले भरिएको छ । साढे सात दशकमा भएका संसदीय निर्वाचनको परिणाम हेर्दा हरेक निर्वाचनमा कम्युनिष्टहरूको जनमत बढेको छ । तर कम्युनिष्टहरु भने जुट्न सकेनन् । जति जुटे त्यो भन्दा बढी संख्यामा फुटेका छन् । जुट्दा झण्डै दुई तिहाइ जनमत पाएका छन् । तर आन्तरिक कलहले न पार्टी एकता बचाउन सके न त्यो जनमत बचाउन सके ।

२०४६ मा जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आम निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले राम्रो मत पाए । त्यसबेला माले र माक्र्सवादी मिलेर बनेको नेकपा (एमाले) ले ६९, संयुक्त जनमोर्चाले ९ र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले २ सिट जितेको थियो । बहुदल पछिको पहिलो निर्वाचनमा कम्युनिष्टले ८० सिट जितेको थियो । त्यो सयमा देशभरी २०५ निर्वाचन क्षेत्र थिए ।

नेपाली कांग्रेको आन्तरिक कलहले २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो ।

यो निर्वाचनमा पनि कम्युनिष्ट पार्टीहरूको मत अझ बढ्यो । यो निर्वाचनमा एमाले ८८ सिट जितेर सबभन्दा ठूलो पार्टी बन्यो भने नेमकिपा पनि ४ सिट जित्यो । अघिल्लो निर्वाचनमा तीन वटा कम्युनिष्ट पार्टीले ८० सिट जितेका थिए भने ३ वर्षमा नै दुई पार्टीले ९२ सिट जितेको थियो ।

पहिलो पटक नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो । उक्त सरकार ९ महिना मात्र टिक्यो । तर त्यो समयमा सरकारले धेहि सुधारका कामहरु गरेको थियो । जसको प्रभाव अहिलेसम्म पनि छ । स्थानीय तहलाई पाँच लाख दिने । सामाजिक सुरक्षा भत्ताको सुरुवात लगायतका धेरै सुधारका र सकारात्मक कामको सुरुवात भएको थियो ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने कम्युनिष्ट पार्टीहरू केही खस्किए । यो चुनावसम्म आउदा एमाले विभाजन भएको थियो । ठूलो हिस्सा एमालेबाट विभाजन भएर नेकपा माले बनेको थियो । बहुदल पछिको पहिलो निर्वाचनमा ९ सिट जितेको संयुक्त जनमोर्चा २०५२ सालबाट माओवादी हुदै जनयुद्धमा होमि सकेको थियो । एमाले र मालेबीच एकले अर्कोलाई हराउने प्रतिस्पर्धा चलेको थियो ।

एमालेले ७१ सिट जित्यो । माले भने देशभरीमा शुन्य भयो । राष्ट्रिय जनमोर्चाले ५, संयुक्त जनमोर्चा नेपालले १ र नेमकिपाले १ सिट मात्र जित्यो । अघिल्लो निर्वाचनमा ९२ सिट जितेका कम्युनिष्ट यो निर्वाचनमा भने ७८ सिटमा चित्त बुझाए । कुल २०५ सिटमा निर्वाचन भएको थियो । एमाले प्रमुख प्रतिपक्ष बन्यो ।

माओवादी २०६२–६३ को जनआन्दोलन र शान्ति सम्झौता हुँदै संसदीय राजनीतिमा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा कम्युनिष्टहरूले भारी मत पाए ।

६०१ सदस्यीय संविधानसभामा २६ सिट मनोनीत गर्ने व्यवस्था थियो । ५७५ सिटका लागि भएको निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले ३५२ सिट जिते । जसमध्ये माओवादीले २२०, एमालेले १०३ र साना कम्युनिष्ट पार्टीहरूले २९ सिट जिते ।
नेपालका दोस्रो पटक कम्युनिष्ट सरकार बन्यो । ०५१ साल पछि एक पटक ०६५ सालमा दोस्रो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । दश वर्ष जनयुद्ध गरेर आएको नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो । यो सरकार पनि पहिलो कम्युनिष्ट सरकार जस्तै ९ महिनामात्र टिक्यो । सरकारले गरेको निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्टाइ दिएपछि तत्कालीन प्रधानसेनापछि रुक्माङगत कटुवालको पद थमौति भयो । जसका कारण प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए ।

२०६६ सालमा एमालेका माधवकुमार नेपाल तेस्रो कम्युनिष्ट प्रधानमन्त्री बने । दुई क्षेत्रबाट निर्वाचनमा पराजित भए पछि उनलाई सहमतिमा संविधान सभामा मनोनित गरेका थिए । प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि उनी प्रधानमन्त्री बने । राजनीतिक खिचातानीले गर्दा उनीपनि लामो समय प्रधानमन्त्री हुन पाएनन् । २०६७ साल २२ माघमा राजिनामा दिए ।

त्यसपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल २०६७ साल २३ माघमा प्रधानमन्त्री बने । संसदमा तेस्रो दल एमालेबाट दुई जना प्रधानमन्त्री बने । राजनीतिक अस्थिरताले पुन खनालले पनि २०६८ भदौ ११ गते राजिनामा दिए ।
पुन माओवादीबाट बाबुराम भट्टराई २०६८ भदौ १२ गते प्रधानमन्त्री नियुक्त भए । राजनीतिमा जे हुदैन भन्यो त्यहि हुन्छ भने जस्तै अन्त पहिलो संविधान सभाबाट संविधान बन्न सकेन । संविधान सभा विघटन भयो । भट्टराईले २०७९ चैत १ गते राजिनामा दिए ।

त्यसपछि दोस्रो संविधान सभाको निर्वाचनको लागि प्रधानन्यायधिस खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्यो ।
दोस्रो संविधानसभा सदस्य निर्वाचन (२०७०) मा कम्युनिष्ट मत फेरि केही ओरालो झ¥यो । ५७५ सिटकै लागि भएको निर्वाचनमा कम्युनिष्टहरूले २७५ सिट जिते । एमाले १७५, माओवादीले ८० र साना पार्टीहरूले २० सिटमा विजय हासिल गरे । पहिलो संविधानसभामा पहिलो दल भएको माओवादी ६ वर्षको अवधिमै तेस्रो दलमा खुम्चियो । तेस्रो भएको एमाले दोस्रो दल बन्यो ।

०७२ साल मंसिरमा संविधान जारी भयो । संविधान जारी भएपछि पुन सरकारको नेतृत्व कम्युनिष्टले गरे । एमाले माओवादी मिलेर केपी शर्मा ओली प्रधानमन्त्री बने । ९ महिना पछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने जेन्टिलम्यान सहमति भएपनि ओलीले कार्यन्वयन गरेनन् । उनको सरकार ढल्यो ।

प्रचण्डको नेतृत्वमा कांग्रेसको समर्थनमा सरकार बन्यो । अन्त ०७४ को स्थानीय तहको निर्वाचनमा विभाजित कम्युनिष्ट पुन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्न सहमत भए ।

संविधान जारी भएपछिको पहिलो आम निर्वाचन २०७४ मा दुई ठूल कम्युनिष्ट पार्टीले चुनावी गठबन्धन गरे । जसमा झण्डै दुई तिहाइ बहुमत ल्याए । नेपालको संसदीय निर्वाचनमा कम्युनिष्टको ‘कम ब्याक’ थियो ।

कुल २७५ सिटका लागि भएको निर्वाचनमा एमाले र माओवादीले स्पष्ट बहुमत प्राप्त गरे । निर्वाचनमा एमालेले १२१ र माओवादी केन्द्रले ५३ सिट गरी कुल १७४ हासिल गरे । जनमोर्चा २ सिट , नेमकिपा १ सिट प्रतिनिधि सभामा थियो । प्रतिनिधि सभामा जम्मा कम्युनिष्ट १७७ जना सांसद थिए ।

नेकपाले २०७४ साल फागनुबाट सरकारको नेतृत्व गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली बने । नेकपाको आन्तरिक किचलोले २०७७ साल ५ पुसमा ओलीले संसद विघटन गरे । त्यसको विरोध चौतर्फी रुपमा भयो । नेकपा नै अदालतमा गयो । विघटन अदालतले उल्टाइ दियो । पुन ओलीले २०७८ साल ८ जेठको मध्यराती विघटन गरे ।

जब कि नेकपा बन्नु भन्दा पहिला नै ७ वटा प्रदेश मध्य ६ वटा प्रदेशमा कम्युनिष्टका सरकार बनेका थिए । केन्द्रकमा भिवाजन भएपछि प्रदेशका सरकार पनि कम्युनिष्टको हातमा त परे तर कांग्रेसको सहभागीता पनि भयो ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकता गरे । एकता पछि स्थापना कालको नाम राखे नेकपा । यो नेकपा पुन तीन वर्षमा विभाजन भयो । पार्टी विभाजन सर्वोच्च अदालतले गरेपनि प्रमुख कारण नेकपाको आन्तरिक विवाद थियो । यी दुई पार्टी मिलेर नेकपा बनेको थियो । तर नेकपा बने पछि आन्तरिक रुपमा तीन पार्टी भएको थियो । जनमतको जनादेश एका तर्फ नेताहरुको मठाधिसको चाहना अर्को तर्फ हुदा अन्त अदालतको आदेश अर्को नाम राखेर एक हुने थियो । तर नेताहरुको चाहना एक होइन तीन हुने भयो र अन्त अहिले एमाले माओवादी मिलेर बनेको नेकपा विभाजन हुदा तीन दल बनेका छन् । एमाले, माओवादी र नेकपा एस ।

२०७९मा भएको प्रतिनिधि सभाको निर्वाचनमा जनमतका आधारमा कम्युनिष्टको मत यथावत जस्तै भएपनि विभाजनको असर परेको छ । एमालेबाट प्रत्यक्ष र समानुपातिक ७८ जना सांसद छन् । एक जना सांसद स्वतन्त्र प्रवेश गरे । अहिले ७९ जना छन् ।

दोस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष र समानुपातिक गरेर ३२ जना सांसद छन् । तेस्रो कम्युनिष्ट पार्टी नकेपा एकिकृत समाजवादीको प्रत्यक्षबाट १० जना सांसद छन् ।
राष्ट्रिय जनमोर्चा र नेमकिपा १–१ जना सांसद छन् । अहिले कम्युनिष्ट पार्टीका जम्मा सांसदहरु १२३ जना छन् ।

कम्युनिष्टहरु एकता हुदा प्रतिनिधि सभामा १७७ सांसद संसदमा थिए भने यो निर्वाचनबाट १२३ जनामात्र सांसद प्रतिनिधि सभामा छन् ।

तर पनि सरकारको नेतृत्व कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नै गरेका छन् । कम्युनिष्टको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।