Bagmati Samachar Logo

बागमतीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिए

हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद तेस्रो पटक विस्तार भएको छ । मुख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्मकट्टेल गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक मुख्यमन्त्री हुदा माओवादी , एमाले र राप्रपाको समर्थन थियो । केन्द्रमा गठबन्धन फेरबदल भएपछि प्रदेश सरकारमा पनि हेरफेर सुरु भएको छ । उनलाई पहिलो पटक समर्थन गर्ने दल गठबन्धनबाट बाहिरिएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । मुख्यमन्त्री जम्मकट्टेलले आइतबार कांग्रेसबाट दुई मन्त्री नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तिर्थ लामा मन्त्री बनेका छन् । मन्त्रीद्वयले प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिं आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री बनेका छन् ।

सत्तागठबन्धनमा भागवण्डाअनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन् । ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन् । कांग्रेसले यसअघि ६ वटा मन्त्रालयमा अडान नछाडेकै कारण सरकार विस्तार हुन सकेको थिएन ।

मुख्यमन्त्री जम्मकट्टेलले पहिलोपटक २६ पुसमा २ जना, दोस्रो पटक ११ माघमा ८ जनालाई मन्त्री बनाएर सरकार विस्तार गरेका थिए । गठबन्धन फुटेर नयाँ सत्ता समिकरण बनेसँगै राप्रपाले १३ फागुन र एमालेले १० चैतमा राजीनामा दिएपछि जम्कट्टेलले आज आइतबार तेस्रो पटक सरकार विस्तार गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक ३ माघमा र दोस्रो पटक १० चैतमै विश्वासको मत लिएका थिए ।

बागमतीमा दुई नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषदमा ६ जना पुगेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै ५ जना मन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।