बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो
मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित नहुदा १० गतेलाई सारिएको छ ।
अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको ढकालले जानकारी दिए ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर कांग्रेसका सांसदहरु पार्टीको शिर्ष नेतृत्वसँग छलफल गर्न केहि दिनदेखि काठमाडौंमा नै थिए । आज पनि मुख्यमन्त्रीले आफ्नै तरिकाले विश्वासको मतसम्बन्धी प्रस्ताव ल्याउने योजना बनाएको भन्दै असन्तुष्ट बनेका थिए ।
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने विषयमा आजै बसेको कांग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी आजको बैठक स्थगित भएको घोषणा गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: