हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
हेटौंडा । सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।
कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दसैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए ।
एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।
दैनिक ७५० मेट्रिकटन र वार्षिक २ लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब ४ देखि ५ सय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ ।
उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५र०७६ देखि २०७८र०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ ।
आर्थिक वर्ष २०७४र०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५र०७६ मा उधोगले १ करोड ५ लाख नोक्सानी बेहोरेको थियो । त्यसपछि २०७६र०७७ मा २३ करोड ८२ लाख, २०७७र०७८ मा १७ करोड ४ लाख उद्योगलाई घाटा भएको थियो । गत आर्थिक वर्षमा उद्योगले १ अर्ब २२ करोड आम्दनी गरेर १ अर्ब ३९ करोड खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड ५५ लाख रहेको छ ।
कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका कारण उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: