चोलेन्द्रले महाभियोगबाट सफाइ पाइसके : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगमा सत्तापक्षले सफाइ दिएको टिप्पणी गरेका छन् ।
आइतबार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राणालाई लागेको महाअभियोगमाथि सत्तापक्षले सफाइ दिएको बताएका हुन् । उनले महाअभियोग प्रस्ताव पारित नभई संसदको कार्यकाल सकिएकाले राणाले सफाइ पाएको बताए । सत्तापक्ष आफूले खनेको खाल्डोमा आफैँ परेकाले राणाले सफाइ पाएको उनको भनाइ छ ।
उनले सरकारले सर्वोच्च अदालतमाथि गोलाबारी गरेको आरोप पनि लगाएका छन् । संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै अध्यक्ष ओलीले आगामी संसदमा पनि सभामुखले महाअभियोग प्रस्ताव घर्रामा राखे भने के हुन्छ ? भन्ने प्रश्न गरे । उनले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताए ।
उनले सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको भन्दै आफूहरूले त्यसको बिरोध गर्ने बताए । उनले लोकतान्त्रिक मूल्यमान्यता र शक्ति पृथकिकरणको सिद्धान्तअनुसार शासन सत्ता चल्नुपर्ने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्: