मकवानपुरकी मोक्तान बनिन् बागमती प्रदेशको सामाजिक विकासमन्त्री
हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेकी छन् । मोक्तान कलिलै उमेरमा माओवादी जनयुद्धमा होमिएकी थिइन् ।
नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् । मोक्तान यसअघि संविधान सभाको सदस्य भइसकेकी हुन् । पहिलो पटक माओवादी ससदमा प्रतिनिधित्व गर्दा अन्तरिम विधायका पनि बनेकी थिइन् ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् ।
मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।
तत्कालिन नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन् । मोक्तान मकवानपुरकी जुझारु महिला नेतृ हुन् । हेटौंडा १३ पदमपोखरी स्थित ठुल्थलीमा जन्मिएकी उनी बुवा सानुकान्छा र आमा तीर्थमायाको जेठो सन्तान हुन् । ४२ वर्षीया मोक्तानको तीन दिदी बहिनी र दुई भाइ छन् । मोक्तान दश वर्षको हुँदा उनको बुवाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: