Bagmati Samachar Logo

माधव नेपालसहित १४ सांसदको पद जोगीयो

काठमाडौं । नेकपा एमालेले कारबार्हीको लागि संसद सचिवालयमा पठाएका माधव नेपालसहित १४ सांसदको पद जोगीएको छ । एमालेले कारवाहीका लागि पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएर कारवाही गर्नु नपर्ने बताएको छ । माधव नेपाल लगायत १४ जना सांसदलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ ।

माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा एमालेले पठाएको पत्रबमोजिम कारवाही गर्नुपर्ने अवस्था नरहेको संसद सचिवालय स्रोतले बताए ।

माधव नेपालसहित नेताहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उक्त कारवाहीको पत्र संसद सचिवालयमा पठाएको थियो । उक्त पत्र सभामुखले ‘विचाराधीन’ अवस्थामा राखेका थिए ।

नेकपा एमालेले माधवकुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सरला यादव, कृष्णलाल महर्जन, मेटमणि चौधरी र भवानी खापुङलाई कारवाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।