Bagmati Samachar Logo

माधव नेपालले गल्ती गर्नु भएकै हो: वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गल्ती गरेको बताएका छन् ।

ओली पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेपालले गल्ती गरेको आरोप गौतमले लगाए।

उनले भने ‘माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुर प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्थे । उहाँले गल्ती गर्नुभएको हो । माधवजीलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।’

गौतमले ओलीलाई आग्रह गदै भने, ‘शीर निहुरिन्छ कि भनेर हुँदैन । माधव नेपाललाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस् ।’

मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने उल्लेख गर्दे वरिष्ठ नेता नेपाललाई अपमान गरेर एकता हुन नसक्ने बताएका छन् । उनले भने ‘माधवकुमार नेपाललाई अपमान गरेर एमाले एकता हुदैन ।’

गौतमले हतार नगरी माधव नेपाल सहितको एकता गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष गौतमले भने, ‘मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

एकता नभए एमाले समाप्त हुने भन्दै वार्तामा जोड दिन सुझाएका छन् । उनले भने, ‘हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ । एमाले आधा–आधा विभाजित छ । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न । सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं ।’

एकताले अध्यक्ष ओलीकै हित गर्ने भन्दै ओलीले संयमता अपनाउनु पर्नेमा जोड दिए ।