Bagmati Samachar Logo

सुदूरपश्चिममा चौथो पटक सरकार पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । शुक्रबार माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।

आजै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई सपथ खुवाएका छन्।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । एमालेबाट दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्।

त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार रहेका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन्

तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो । तर, उनले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।