नेपाल पक्षले भन्यो– संसद् विघटन गरेर ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजे
काठमाडौं । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गत ५ पुसलाई कालो दिनको रुपमा परिभाषित गरेको छ । आज आफ्नो पक्षका पार्टी सदस्यलाई यस्तो निष्कर्ष सहितको सर्कुलर जारी गर्दै आफूहरूले हामीले महाधिवेशनको दिशानिर्देशक अनुसार पार्टी चलाउन र पार्टी नीति अनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा नसुनेको बताएका छन् ।
‘यहाँसम्म कि आफ्नो प्रधानमन्त्री पद गुम्ने जस्तो भएपछि उहाँले घोर असंवैधानिक ढङ्गले ५ पुस ०७७ मा जनताले ५ वर्षका निम्ति निर्वाचित गरेको प्रतिनिधिसभालाई नै बिघटन गरिदिनुभयो । शक्तिशाली नेकपाको अध्यक्ष र झन्डै दुई तिहाइ सांसदको समर्थनप्राप्त प्रधानमन्त्रीको हैसियत दुरूपयोग गर्दै प्रतिनिधि सभा विघटन गरिएको दिन नेपालको इतिहासमा एउटा कालो दिनको रूपमा रहनेछ ।’
खनाल नेपालले आफ्ना नेतालाई ओलीले प्रतिनिधिसभाको विघटन गरेर कम्युनिस्ट आन्दोलनलाई नै विसर्जनको दिशामा धकेलेको आरोप पनि लगाएका छन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्ने कुत्सित मनशाय बोकेर असंवैधानिक कदम चाल्दै मुलुकलाई प्रतिगमनतिर लैजाने कमरेड केपी ओलीका कुकृत्यबाट मुलुकलाई बचाउन नेपाली जनता शीरमा कफन बाँधेर सडकमा उत्रिए र हामीले त्यस आन्दोलनको नेतृत्व गरेका हौं । नेपाली जनताको आन्दोलन र चौतर्फी दबाबले गर्दा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको उक्त गलत कदमलाई उल्टाउँदै विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गर्यो । त्यसबाट रन्थनिएका केपी ओलीले षडयन्त्रका अनेकौं तानाबाना बुन्न थाल्नुभयो,’ सर्कुलरमा उल्लेख छ,‘ गत २३ फागुनमा माग नै नगरेको बिषयमा प्रवेश गरेर सर्वोच्च अदालतले ३ जेठ ०७५ मा भएको पार्टी एकतालाई खारेज गर्दै एकताबद्ध भएका दुवै पार्टीलाई पूर्ववत् अवस्थामा अर्थात् २ जेठ ०७५ को अवस्थामा फर्काइदियो । यसरी पूर्ववत अवस्थामा फर्काइएपछि हामीले एमाले ०७५ जेष्ठ २ गते जुन अवस्थामा थियो त्यही अबस्थाबाट अगाडि बढ्नुपर्ने अडान राख्यौं । तर केपी ओलीको दक्षिणपन्थी एव विसर्जनवादी प्रवृत्ति एमालेलाई विघटन गर्नेतर्फ उद्दत रह्यो । त्यसैको एउटा कडी हो २८ फागुनको घोर षड्यन्त्रकारी कदम हो ।’
जारी सर्कुलरमा ४ र ५ गते चैतको राष्ट्रिय भेलाको निर्णयअनुसार सम्पूर्ण पार्टी कमिटी परिचालित हुन निर्देशन दिएको छ ।
सर्कुलरमा भनेको छ ‘यस्तो विषम परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल गरी एउटा साझा निष्कर्षमा पुग्न हामीले ०७७ चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना ग¥यौं । अत्यन्त उत्साहजनक एवम् भव्य रूपमा सम्पन्न उक्त भेलाका निणर्यहरू, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निणर्यसमेत मातहत कमिटीहरूमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ । अब सम्पूर्ण पार्टीपंक्ति यसै अनुसार परिचालित हुन निर्देशित गरिन्छ ।’
प्रतिक्रिया दिनुहोस्: