खनाल–नेपालकाे दस्तावेज : ओली ‘भ्रष्टचारीका संरक्षक’
काठमाडौ । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षणले गरेको आरोप लगाएका छन् । आज उनीहरूले जारी राजनीतिक प्रतिवेदनमा ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्ता नारालाई हास्यास्पद बनाएको उल्लेख गरेका छन् । ओलीले सुशासनको पक्षमा उठेका आवाजलाई आफूलाई असफल पार्न गरिएको षडयन्त्रको रुपमा देखेको पनि बताएका छन् ।
‘दलाल पुँजीपतिहरूसँग साँठगाँठ बढ्यो । उनीहरूलाई विभिन्न जिम्मेवारीमा खटाउन थालियो । राज्यको साधन–श्रोतको मनमानीपूर्ण ढङ्गले दुरूपयोग गरियो । हुँदाहुँदा पार्टी स्थायी कमिटीको बैठकमा आफैले फिर्ता गर्छु भनेको अध्यादेशकै आधारमा आफ्नो गुटका विश्वास पात्रहरू र पार्टी बाहिर उहाँले गर्नु भएका साँठगाँठलाई बलियो बनाउने गरी विवादित व्यक्तिहरूलाई विभिन्न संवैधानिक निकायहरूमा भर्ति गरियो,’ खनाल नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
ओली पार्टी, सरकार र अन्य संवैधानिक अंगलाई आफ्नो नियन्त्रणमा लिने ध्याउन्नमा लागेको पनि बताएका छन् । ‘उहाँले आफ्ना स्वार्थका लागि राष्ट्रपति कार्यालयलाई समेत दुरूपयोग गरिरहनुभयो । देशका विभिन्न स्थानमा भएका जनतामाथिका ज्यादति र महिला तथा दलितमाथिका अत्याचारप्रति ध्यानै दिइएन । आफू अल्पमतमा पर्ने कुनै बैठक वा कमिटीलाई स्वीकार नगर्ने बरु पार्टीलाई घुँडा टेकाएर शासन गर्ने उहाँको चाहनामा कुनै परिवर्तन आएन,’ प्रतिवेदनमा उल्लेख छ,‘२६ भदौ ०७७ को स्थायी कमिटीले पाँच वर्षका लागि प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टीको अध्यक्षसमेत उहाँ नै रहने तर उहाँले पार्टीको विधि– विधानलाई स्वीकार गर्नुपर्ने निर्णय गरेको थियो । उहाँले त्यस निर्णयलाई समेत कार्यान्वयन गर्नुभएन ।’
उनीहरूले गुटबन्दीबाट पार्टीलाई जोगाउन ओलीका कतिपय नाजायज मागलाई पनि पार्टीले पूरा गर्दै आएको बताएका छन् । ओलीले मुलुकको सामाजिक–आर्थिक व्यवस्थाले नै काँचुली फेर्ने, समृद्धि र समाजवादको जग बसाल्नेजस्तो ऐतिहासिक महत्त्वको जिम्मेवारी सम्पन्न गर्ने र विश्व कम्युनिष्ट तथा समाजवादी आन्दोलनमै एउटा उदाहरण प्रस्तुत गर्ने सम्भावनालाई गुमाएको पनि तर्क गरेका छन् ।
‘केपी ओलीले पार्टीमा लामो समय गुटबन्दी गर्नुभयो । गुटबन्दीबाट पार्टीलाई जोगाउन उहाँका कतिपय नाजायज मागहरू पनि पार्टीले पूरा गर्दै आयो,’ खनाल नेपालको प्रतिवेदनमा उल्लेख छ,‘त्यस क्रममा उहाँ पार्टी अध्यक्ष भएपछि उहाँको व्यक्तिवादी तथा अवसरवादी चरित्र अझै बलियो भयो । गत निर्वाचनपछि उहाँ प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष भएपछि त्यो व्यक्तिवादी तथा अवसरवादी चरित्रले मूलतः दक्षिणपन्थी बाटो लियो र अन्ततः पार्टी र आन्दोलनलाई विसर्जन गर्ने दिशामा अगाडि बढ्यो ।’
प्रतिक्रिया दिनुहोस्: