प्रधानमन्त्री ओलीले संविधान कुल्चिएपछि जनता सडकमा आएः जनार्दन शर्मा
काठमाडौं । २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएको बताएका छन् । सोमबार प्रेस संगठन नेपालले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीले निरंकुश प्रवृत्ति देखाएको पनि बताए ।
प्रधानमन्त्रीले नै देशको संविधानलाई मान्दिन भन्यो भने राष्ट्र, राष्ट्रियता र स्वाधीनता नरहने पनि बताए । उनले प्रश्न गरे, जनताले बनाएको संविधानअनुसार काम हुँदैन भने राष्ट्रको रक्षा कसरी हुन्छ ? देश त संविधानअनुसार चल्नु पर्ने हैन र ? संविधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएको पूर्वमन्त्री समेत रहेका शर्माले बताए ।
शर्माले भने जनताकै बलमा नयाँ संविधान, गणतन्त्र, धर्मनिरपक्षेता, संघीय गणतन्त्र ल्याएका हौँ । अहिले त्यो वर्गको स्वामित्व संविधानमा नहुँदा संविधान कुल्चने काम भयो । गणतन्त्र, लोकतान्त्रिक, संघीय व्यवस्थाका लडेकाहरूले संविधानको रक्षाको स्वामित्व नलिइ राजनीतिक दलहरूले त्यसको स्वामित्व लिएका कारणले पनि अहिलेको संकट आएको शर्माले बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई समाप्त पार्न र संविधानको रक्षा गर्न लागि निरंकुशतन्त्रका विरुद्ध जनता सडकमा आएको र त्यस्तो कदम नसच्चिएसम्म जनता सडकमा आइरहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: