क्रान्तिकारीद्धारा नाम्गेल स्कुललाई कार्वाही गर्ने चेतावनी
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बालेन्द्र नेतृत्वको सरकारको कडा आलोचना गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित निर्णय तथा जनविरोधी गतिविधिविरुद्ध पाँच बुँदे मागसहित प्रेस वक्तव्य सार्वजनिक गरेको छ।
संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी वक्तव्यमा सरकारले विद्यार्थी र आमजनताको हितविपरीत एकपछि अर्को निर्णय गर्दै गएको दाबी गरेको छ । वक्तव्यमा शिक्षा तथा स्वास्थ्य सेवामा ३ प्रतिशत कर लगाउनु, राष्ट्रिय स्वाधीनतामाथि असर पर्ने निर्णयहरू गर्नु तथा जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्नु वर्तमान सरकारको जनविरोधी चरित्र भएको दाबी गरिएको छ।
क्रान्तिकारीले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीताविपरीत दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको भन्दै त्यसको कडा विरोध गरेको छ। संगठनले नाम्गेल स्कुल तत्काल बन्द गर्न सरकारसँग माग गर्दै त्यसो नभए आफ्नो संगठनले बन्द गर्ने चेतावनी दिएको छ ।
त्यसैगरी, सरकारले प्रचलनमा ल्याउने सिक्काबाट नेपालको नक्सा हटाउने निर्णयलाई राष्ट्रघाती भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। संगठनले आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत शिक्षा समता शुल्कका नाममा लगाइएको शिक्षा कर, स्वास्थ्य सेवा, राइड सेयरिङ तथा विद्युतमा लगाइएको कर तत्काल खारेज गर्न माग गरेको छ। साथै शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने माग गरेको छ
प्रेस वक्तव्यमा सुकुम्बासीमाथि सरकारले अपनाएको रबैयाको कडा शब्दमा निन्दा गरिएको छ । क्रान्तिकारीले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न, उनीहरूका बालबालिकाको अध्ययन–अध्यापन सुनिश्चित गर्न तथा घरबारको अबिलम्ब व्यावस्था गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, बालेन्द्र सरकार गठन भएको एक सय दिनभित्र चार जना आत्मदाह गर्न बाध्य भएको उल्लेख गर्दै संगठनले गणेश नेपालीसहित सम्पूर्ण पीडित घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने तथा पीडित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ।
क्रान्तिकारीले सरकारलाई आफ्ना मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्दै बेवास्ता गरिए देशव्यापी सशक्त विद्यार्थी आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस्: