पहिलो पटक फिफा विश्वकप खेलेको केप भर्डेका बारेमा ६ वटा रोचक जानकारी
काठमाडौं । केप भर्डे अफ्रिकाको एउटा सानो टापु राष्ट्र हो, जसको जनसंख्या करिब पाँच लाखभन्दा केही बढी मात्र छ।‘ब्लु शार्क्स’ का नामले परिचित केप भर्डेको राष्ट्रिय फुटबल टोलीले आफ्नो छनोट समूहमा पहिलो स्थान हासिल गर्दै सन् २०२६ को फिफा विश्वकपका लागि ऐतिहासिक रूपमा पहिलो पटक छनोट भएको थियो।यसअघि केप भर्डेले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपमा कहिल्यै खेल्ने अवसर पाएको थिएन।पश्चिम अफ्रिकाको सेनेगलको तटबाट ५०० किलोमिटरभन्दा बढी दूरीमा अटलान्टिक महासागरमा अवस्थित यो सानो टापु राष्ट्रका लागि विश्वकपमा पुग्नु एक समय असम्भव सपना मानिन्थ्यो।
आउनुहोस्, यो सानो देशका ६ विशेषताबारे जानौँ
१. पोर्चुगाली आउनुअघि यहाँ लामा कान भएका चमेरा बाहेक अरू कोही थिएन

केप भर्डेको पहिलो राजधानी
करिब ४,००० वर्ग किलोमिटर क्षेत्रफल भएको केप भर्डेमा १० वटा टापु छन्, जसमध्ये ९ वटामा मानिस बसोबास गर्छन्। यहाँ पाइने एकमात्र स्थानीय स्तनधारी प्रजाति ग्रे लङ–इयर्ड ब्याट (धूसर लामो कान भएको चमेरो ) हो। प्राचीनकालदेखि यही चमेरो मात्र यस टापु समूहमा बसोबास गर्दै आएको मानिन्छ। ऐतिहासिक अभिलेखअनुसार १४५६ मा पोर्चुगिजहरू यहाँ आइपुगेपछि दक्षिणी टापु सान्टियागोमा रिबेरा ग्रान्डे नामको पहिलो बस्ती स्थापना गरेका थिए।
आज यही स्थान सिदादे भेल्हाका नामले चिनिन्छ। यो राजधानी प्रायाबाट केही किलोमिटरको दूरीमा अवस्थित छ।
पोर्चुगिजहरूले यी टापुहरूको नाम अफ्रिकी मुख्यभूमिको सबैभन्दा नजिक रहेको केप भर्डे प्रायद्वीपको नामबाट राखेका थिए।
आज यही प्रायद्वीपमा सेनेगलको राजधानी डकार अवस्थित छ।
२. अफ्रिका–अमेरिका दास व्यापारको प्रमुख केन्द्र

१८५६को एक चित्रमा देखाइएको काबो भर्डेका निवासी
अफ्रिका र अमेरिकाबीचको रणनीतिक स्थानका कारण १६औँ शताब्दीमा केप भर्डे अटलान्टिक पार हुने दास व्यापारको प्रमुख केन्द्र बनेको थियो।
यो अमानवीय व्यापार तीन सय वर्षभन्दा बढी समयसम्म जारी रह्यो। अनुमानअनुसार हरेक वर्ष अफ्रिकाबाट ल्याइएका करिब ३,००० दासहरूलाई यहाँ बिक्री गरेर युरोप तथा अमेरिका पठाइन्थ्यो। कतिपयलाई भने केप भर्डेमै राखी नुन खानी तथा पोर्चुगिजहरूले सुरु गरेको कपास खेतीमा काम लगाइन्थ्यो। यस दास व्यापारको प्रभाव आज पनि देशको जनसंख्या संरचनामा देखिन्छ। हाल अधिकांश नागरिक अफ्रिकी र युरोपेली मुख्यतः पोर्चुगिज० मूलका मिश्रित समुदायका छन्। यसैले पोर्चुगिज आधिकारिक भाषा भए पनि अधिकांश मानिस केप भर्डियन क्रियोल बोल्छन्।
यो पोर्चुगिज र विभिन्न अफ्रिकी भाषाको मिश्रणबाट बनेको भाषा हो, जसका ९ वटा प्रमुख बोली छन्। बसोबास भएका प्रत्येक टापुको आफ्नै बोली छ।
औपनिवेशिक शासनको प्रभाव धर्ममा पनि देखिन्छ। सीआईएको ‘द वर्ल्ड फ्याक्टबुक’ अनुसार देशका ७२.५ प्रतिशत नागरिक क्याथोलिक धर्मावलम्बी छन्।
३. पर्यटकहरूको रोजाइमा पर्ने गन्तव्य

घाम ,सुन्दर समुन्द्र तट र अन्य अकार्षण पर्यटक क्षेत्रका कारण पर्यटक केप भर्डे आउछन्
टापुहरूबीचको लामो दूरी, सीमित भूमि, खेतीयोग्य जमिनको अभाव तथा ज्वालामुखीय चट्टानले ढाकिएको भूभागका कारण पछिल्ला साढे पाँच सय वर्षमा यहाँको जनसंख्या अपेक्षाकृत कम मात्र बढेको छ।
यसको क्षेत्रफल एल साल्भाडोरको क्षेत्रफलको पाँचौं भागभन्दा पनि सानो छ। देशको केवल ११ प्रतिशत जमिन मात्र खेतीयोग्य छ। विश्व बैंकका अनुसार २०२४ मा केप भर्डेको जनसंख्या करिब ५ लाख २४ हजार थियो। तर त्यही वर्ष यहाँ १२ लाखभन्दा बढी पर्यटक आएका थिए। अर्थात् पर्यटकको संख्या देशको जनसंख्याभन्दा दोब्बरभन्दा बढी थियो। पर्यटन नै केप भर्डेको अर्थतन्त्रको सबैभन्दा ठूलो आधार हो। विभिन्न अन्तर्राष्ट्रिय स्रोतका अनुसार देशको कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ हिस्सा पर्यटनबाट आउँछ। देशभित्र बस्ने केप भर्डेलीभन्दा विदेशमा बस्ने प्रवासीको संख्या अझ बढी छ। सरकारको २०२३ को अनुमानअनुसार विश्वभर करिब २० लाख केप भर्डेली बसोबास गर्छन्। तीमध्ये अधिकांश पोर्चुगल र अमेरिकामा रहेका छन्।
४. अफ्रिकाका सबैभन्दा स्थिर लोकतन्त्रमध्ये एक

१९५१ मा पोर्चुगलले केप भर्डेलाई उपनिवेशको सट्टा आफ्नो विदेशी प्रान्त घोषणा गर्यो।तर यसले जनताको स्वतन्त्रताको चाहना पूरा गर्न सकेन। १९५० र १९६० को दशकमा अमिलकार काब्राल लगायतका नेताहरूले गिनी–बिसाउको स्वतन्त्रता आन्दोलनसँग मिलेर पोर्चुगिज शासनविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। यो संघर्ष अन्ततः ५ जुलाई १९७५ मा केप भर्डे स्वतन्त्र भएपछि समाप्त भयो। स्वतन्त्रतापछि १९९० सम्म देशमा एकदलीय शासन कायम रह्यो। पछि मुभमेन्ट फर डेमोक्रेसीको उदयसँगै बहुदलीय प्रणाली सुरु भयो र जनवरी १९९१ मा पहिलो बहुदलीय निर्वाचन सम्पन्न भयो।त्यसयता देशमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुँदै आएको छ। यहाँ राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा ९संसद० र सर्वोच्च अदालतसहितको लोकतान्त्रिक संस्थागत व्यवस्था छ।२०२१ मा केन्द्र–वामपन्थी विपक्षी नेता जोसे मारिया नेभेस राष्ट्रपति निर्वाचित भएपछि करिब १० वर्ष लामो : एम् को राजनीतिक वर्चस्व समाप्त भएको थियो।
५. न नदी, न ताल—केवल ज्वालामुखी

१५ औँ शताब्दीदेखि पिको दो फोगो ज्वालामुखी २८ पटक विस्फोट भएको छ
अत्यन्त सुख्खा जलवायु भएका कारण केप भर्डेमा कुनै नदी, ताल वा ठूलो प्राकृतिक मिठो पानीको स्रोत छैन। यसैले यहाँको पिउने पानी पूर्ण रूपमा समुद्री पानीलाई प्रशोधन ९डिसालिनेसन० गरेर उपलब्ध गराइन्छ। यहाँ वर्षा निकै कम हुन्छ र लामो समयसम्म खडेरी पर्ने गर्छ।यसका कारण कृषि उत्पादनमा ठूलो असर परेको छ र बेला–बेलामा खाद्यान्न संकटसमेत देखिने गरेको छ। ज्वालामुखीबाट बनेको यस टापु राष्ट्रको अधिकांश भूभाग उबडखाबड, सुख्खा र खेतीका लागि अनुपयुक्त छ।साल, बोआ भिस्टा र मायो टापुहरू समथर तथा बालुवाका टिलाले ढाकिएका छन् भने सान्टो अन्ताओ र साओ निकोलाउ उचाइ भएका पहाड र भीरका लागि परिचित छन्।देशको सबैभन्दा अग्लो स्थान पिको दो फोगो हो, जसको उचाइ २,८२९ मिटर छ। यही केप भर्डेको एकमात्र सक्रिय ज्वालामुखी पनि हो। यसको पछिल्लो विस्फोट नोभेम्बर २०१४ देखि फेब्रुअरी २०१५ सम्म चलेको थियो, जुन पछिल्ला करिब ढाई सय वर्षकै सबैभन्दा लामो विस्फोट मानिन्छ।
यसबाट धेरै गाउँ पूर्ण रूपमा नष्ट भए र करिब १,००० मानिस विस्थापित भएका थिए।
६. संगीत परम्परा : सेजारिया एभोराको ‘मोर्ना’ र ‘फुनाना’

सेजारिया एवोरा केप भर्डेको इतिहासमा सबै भन्दा प्रसिद्ध र सबै भन्दा बढी अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकार
केप भर्डे आफ्नो विशिष्ट संगीत संस्कृतिका लागि पनि विश्वभर परिचित छ। यहाँका दुई प्रमुख पारम्परिक संगीत शैली मोर्ना र फुनाना हुन्।विश्वप्रसिद्ध गायिका सेजारिया एभोराले आफ्नो मधुर मोर्ना गायनमार्फत केप भर्डेको संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएकी थिइन्। केप भर्डेमा संगीत दैनिक जीवनको अभिन्न हिस्सा हो। यो सार्वजनिक उत्सव मात्र होइन, पारिवारिक समारोहमा पनि उत्तिकै उत्साहका साथ प्रस्तुत गरिन्छ। मोर्ना यहाँको सबैभन्दा प्रसिद्ध संगीत शैली हो। २०१९ मा यूनेस्कोले यसलाई मानवताको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरेको थियो। मोर्ना ढिलो लय, गहिरो भावनात्मकता र विरहको अनुभूतिले भरिएको हुन्छ। यसले आफ्नै देश वा प्रियजनबाट टाढा रहँदाको पीडा, सम्झना र गहिरो लगावलाई अभिव्यक्त गर्छ, विशेषगरी विदेशमा बस्ने केप भर्डेलीहरूको भावना यसमा झल्किन्छ।
मोर्नामा गिटार, काभाकिन्हो ९सानो तारवाद्य०, भायोलिन र हल्का तालवाद्य प्रयोग गरिन्छ। मोर्नालाई विश्वव्यापी पहिचान दिलाउने सबैभन्दा ठूलो श्रेय सेजारिया एभोरा ९१९४१–२०११० लाई जान्छ। ‘नाङ्गो खुट्टे दिवा’का नामले प्रसिद्ध एभोराले मोर्नालाई विश्वका प्रतिष्ठित मञ्चसम्म पुर्याएकी थिइन्। केप भर्डेको अर्को प्रमुख पारम्परिक संगीत शैली फुनाना हो। यसको विशेषता तीव्र लय, उत्साहपूर्ण प्रस्तुति र नृत्यका लागि उपयुक्त ताल हो।
फुनानामा मुख्य रूपमा अकोर्डियन र फेरिन्हो (फलामको डन्डी रगडेर बजाइने तालवाद्य) प्रयोग गरिन्छ।
हिन्दी बिबिसी


प्रतिक्रिया दिनुहोस्: