Bagmati Samachar Logo

चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्यसँग प्रतिस्पर्धा गरेका मनिष झाले चुनाव हारेका छन् । आचार्य विजयी भएका छन् ।

शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले आफूले चुनाव हारे पनि पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको बताएका छन्।

पार्टीमा अरू पुराना असफल पार्टी जस्तै टीके प्रथा र गुट प्रथा नहोस् भनेर आफूले प्रयास गरेको धारणा उनले राखेका छन्। रास्वपाको महाधिवेशनमा केही व्यवस्थापकीय कमजोरी भए पनि लोकतान्त्रिक तवरबाट सफलतापूर्वक समापन भएको झाले बताए।

त्यस्तै नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोही पनि कुनै समूहको भन्ने आरोप सही नभएको बताएका छन्।

महाधिवेशन सम्पन्न गर्दै गर्दा पार्टी थप संस्थागत हुने दिशामा अगाडि बढेको उनले स्पष्ट पारे।

आचार्यले पार्टीलाई अझ बढी पारदर्शी, विधिसम्मत र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राखेका छन्।