पर्यटनमन्त्री पौडेलको सम्पत्ति : ११ तोला सुन, भाउजूको नाममा रहेको घर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले भाउजू सन्तोषी शर्माको नाममा रहेको घरलाई सम्पत्ति विवरणमा समेटेका छन् । उनले पोखरा– १४ मा रहेको घर २ करोड ६० लाखमा बैंकको ऋण तथा पैत्रिक सम्पत्तिबाट खरिद गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी उनले आमा खीमाकुमार पौडेलको नाममा कास्कीमा तीन ठाउँमा जग्गा रहेको पनि विवरण पेस गरेका छन् । मन्त्री पौडेलसँग ११ तोला सुन र ५ तोला चाँदी पुस्तान्तरण भएर आएको उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले एनएमबी बैंकमा ५१ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकमा ८ लाख रुपैयाँ नगद जम्मा रहेको पनि उल्लेख गरेका छन् । र मझेरी सहकारीमा १ लाख ३५ हजार रुपैँया रहेको पनि सम्पत्ति विवरणमा लेखेका छन् । त्यसैगरी, उनले मझेरी सहकारीमा शेयर रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी, एसएसआईएस र बीजीडब्लुटी कम्पनीमा पनि लगानी रहेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले आफ्ना दाजु पशुपति पौडेलसँग एउटा गाडी रहेको र आफूसँग दुईवटा स्कुटी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पौडेलले बुक लिफ्ट प्रालिमा २५ लाख र मझेरी मञ्जिलमा पारिवारिक लगानीको रूपमा २ करोड लगानी गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले मझेरी सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख गरेका छन् । घर किन्न शर्माले माछापुच्छ्रे बैंकबाट १ करोड ३० ऋण लिएको विवरण पनि पेस गरेका छन् । घर भने भाउजू सन्तोषी शर्माको नाममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्: