भौतिक मन्त्री सुनिल लम्सालको सम्पत्ति : ३० तोला सुन, ९० लाख नगद र नवलपरासी, रुपन्देही र स्याङजामा जग्गा
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालये आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, ९० लाख नगद, ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।
सार्वजनिक गरिएको विवरणमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ मा १ कठ्ठा १० धुर जग्गा जमुना लम्सालको नाममा रहेको खुलाइएको छ । त्यसैगरी, जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा रहेको पनि उल्लेख छ ।
पारिवारिक सम्पत्तिको रूपमा बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको पनि विवरणमा जनाइएको छ ।
मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको जनाइएको भए तापनि सो रकम कुन बैंकमा छ भन्ने स्पष्ट खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्: