सरकारले काउन्ट गर्दै पक्राउ गरेका भिआईपीहरु धमाधम छुट्दै
काठमाडौं । वालेन शाह प्रधानमन्त्रीको दोस्रो दिन नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । उनीहरू जेनजी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ परेका थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई कारबाही सिफारिस गरेको थियो ।
सरकार गठन भएको २४ घण्टा नबित्दै १४ चैतमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । भीआईपी पक्राउ पर्न थालेपछि गृहमन्त्री सुधन गुरुङ आफैंले त्यसबारे जानकारी दिंदै फेसबुकमा स्टाटससमेत लेख्ने गरेका थिए । कतिसम्म भने किन पक्राउ परे भन्नेसम्मको जानकारी दिँदै उनले पक्राउ पुर्जीसमेत सार्वजनिक गर्थे ।
तर सरकार बनेको १३ दिनभित्र नै गृहमन्त्री गुरुङले काउन्ट गरेकामध्ये पाँच भीआईपी भने छुटेका छन् । ओली आज बिहीबार बिहान छुटेका छन् । लेखक पनि आजै छुटेका छन् भने यसभन्दा अघि तीन भीआईपी रिहा भइसकेका छन् ।
१७ चैतमा मत्रै काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा छुटे । उनलाई एक दिन पनि प्रहरीले हिरासतमा राख्न सकेन ।
रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
सरकारले पक्राउ गरेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पनि छुटिन् ।
१५ चैतकै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी थिइन् । उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो ।
६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । त्यसपछि उनको उद्धार भएको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । तर, सांसद शर्माविरुद्ध भने मुद्दा चलेको थिएन । १५ चैतमा पक्राउ परेकी उनी २२ चैतमा छुटिन् ।
महान्यायाधिवक्ताको कार्यालयले १६ जेठ २०८२ मा शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । पहिल्यै निर्णय भइसकेको विषयमा पुनस् प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्था नदेखिएको भन्दै काठमाडौं जिल्ला अदालतले हिरासत मुक्त गर्न आदेश दिएपछि उनी छुटिन् ।
पक्राउ परेका अर्का उच्चपदस्थ शंकर अग्रवाल पनि रिहा भए । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।
प्रतिक्रिया दिनुहोस्: