Bagmati Samachar Logo

नेकपामा ६० प्रतिशत युवालाई पार्टीमा अवसर दिनु पर्ने नभए आवरअनसन बस्ने तयारी

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा युवाहरुलाई अवसर नदिएको भन्दै ४० वर्ष मुनिकाहरु असन्तुष्ट बनेका छन् ।

नेकपाले बिहीबार ४५ जनाको कार्यसंयोजन समिति गठन गरेपछि युवाहरु असन्तुष्ट बनेका छन् ।

४५ जनामा युवाहरु नपर्नु र केन्द्रीय समितिमा पनि युवाहरु नसमेटीनु जने–जी आन्दोलनको म्याण्डेट विपरित भएको भन्दै युवाहरुले पार्टी संयोजक पुष्कपमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले जेन जी आन्दोलनको म्यान्डेट अनुसार कार्य गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गर्दै आएको सर्वविदितै भएको उल्लेख गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिनिधि सभा निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्रमा जेन जी उम्मेदवारहरू सिफारिस गर्ने परिपत्र जारी भए तापनि, एक जना पनि जेन जी उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गर्न नसक्नु दुःखद र चिन्ताजनक विषय हो ।’

त्यसैगरी, समानुपातिक बन्दसूचीमा समेत ४० वर्ष मुनिका एक जना युवा समेत समावेश नगरिनु पार्टीको युवाप्रति असंवेदनशीलताको स्पष्ट संकेत भएको उल्लेख गरेको छ ।

पछिल्लो समय पार्टी एकताको सन्दर्भमा विभिन्न तहका कमिटीहरू मर्ज गर्दा, विधानमा व्यवस्था भएका प्रावधानहरूलाई समेत बेवास्ता गरी युवाको प्रतिनिधित्व शून्यतर्फ धकेलिएकाले पार्टीमा आबद्ध लाखौँ युवाहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालय, संयोजन समिति लगायत सबै तहका कमिटीहरूमा कम्तीमा ६०% युवाहरूको सहभागिता सुनिश्चित गर्नु पर्ने माग रहेको युवा नेता भुवन विष्टले शिलापत्रलाई बताए । उनले भने,‘चुनावमा पार्टीको काममा युवाहरुलाई जिम्मेवारी दिने तर अवसर नदिने प्रवृति झन झन बढ्दै गएकाले पहीलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । यदि हाम्रो मागलाई हल्का रुपमा लिएमा पार्टी कार्यालयमा आवसर अनसन बस्न युवाहरु तयार छौँ ।’

प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा पार्टी स्वीकार गर्नु पर्ने माग पनि रहेको विष्ट बताउछन् ।

पार्टी अब नेताहरुको स्वार्थअनुकूल अधिनायकवादी ढंगले चल्नु हुँदैन विधान तत्काल संशोधन गरी महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्दै आन्तरिक पार्टी लोकतान्त्रिकरण सुनिश्चित गर्न पनि माग रहेको उनले बताए । उनले भने,‘अब विधान नै परिवर्तन गरेर सबै समितिमा निर्वाचन प्रणाली लागु हुनु पर्छ । महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन हुनु पर्छ । युवाहरुलाई ६० प्रतिशत युवाहरु नेतृत्वमा आउनु पर्छ ।’

अहीलेसम्म पार्टीको नेतृत्वमा बसेका सबै पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्नु पर्ने ज्ञापनपत्रमा छ ।

यदि आफ्ना मागहरु पुरा नभए देशव्यापी संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले वहन गर्नुपने विष्टले बताए ।