Bagmati Samachar Logo

इनिशा विक मृत्यु प्रकरण स् आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश दिपक ढकालको एकल इजलाशले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।

चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको जानकारी दिए ।

यद्यपि, कानूनी विवादमा परेका ति बालकलाई कारागार नभई बालसुधार गृहमा पठाइने छ । गत २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिशा घर नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन । उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

गौलीको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको थियो । पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका छन् ।

उक्त घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आइतबार चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गराएको थियो ।

इनिशा मृत्यु प्रकरणमा न्यायिक निरुपण सुरु भइसकेको भएपनि पीडित परिवारले भने न्यायका लागि आन्दोलन जारी राखेका छन् । उनीहरूले घटनामा संलग्नहरूलाई कारवाही नभएसम्म शव नउठाउने अडान लिएका छन् । जसका कारण इनिशाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।