जेन–जी रेड फोर्सकी संयोजकलार्य चार घण्टा राखेर सोधपुछ गरी, सरकारविरुद्ध नबोल्न चेतावनी दिएर छाडियो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’ अनामनगरबाट उनलाई नियन्त्रणमा लिएका थिए ।
उनलाई पक्राउ गरेलगत्तै भद्रकालीस्थित प्रहरी परिसरमा पुर्याइएको तिमल्सिनाले बताइन् । सरकारको आलोचना गरेको हुँदा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताइन् ।
तिमल्सिनाका अनुसार प्रहरीले आइन्दा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन कागज गराएका छन् । ‘कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,’ उनले भनिन् ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर भर्खर छाडिएको छ ।’
तत्कालीन माओवादी निकट रहेर उनले आफ्नै पहलामा २९ असोजमा जेन–जी रेडफोर्स गठन गरेर संयोजक बनेकी थिइन् । उक्त संगठनले देशभर आफ्नो सञ्जाल विस्तार गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: