कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खड्कालाई आज बिहान निवासबाट पक्राउ गरेको हो । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । उनको बयान लिन सुरू समेत भइसकेको छ ।
‘दिपक खड्काको आज बयान कार्य सुरू भए पनि उनी विरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा दिपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।
गत २४ भदौमा भएको तोडफोड र आगजनीमा खड्काको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो बाहिरिएको थियो । उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्: