Bagmati Samachar Logo

जेन–जी सरकारका किङमेकर सुधनको हातमा गृह मन्त्रालय

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका सुधन गुरुङ जेनजी आन्दोलनभन्दा पहिला नेपाली राजनीतिमा नसुनिएको नाम हो । तर आज उनले गृहमन्त्रीको जिम्मा पाएका छन् । गुरुङले गोरखा १ बाट चुनाव जीतेका हुन् । उनी जेन–जी आन्दोलनको सुरुको दिन पानी वितरण गरिरहेका थिए ।

विस्तारै गुरुङ जेन–जी अगुवा मात्र होइन, गुरुङ नेतृत्वकर्ता नै भए । त्यतिबेला उनी जेन–जी विद्रोहका माग सम्बोधन गर्ने तथा नयाँ सरकार गठन प्रक्रियामा जोडिएका थिए । अहिले उनको हातमा सबै भन्दा महत्वपूर्ण मन्त्रालय पुगेको छ । देशको आन्तरिक शान्ति सुरक्षाको जिम्मा गुरुङको हातमा छ ।
गृह मन्त्रालय नेपालमा मालदार मन्त्रालय मात्र होइन, शक्तिको खेलोफड्को गर्ने मन्त्रालय पनि हो । भ्रष्टाचार धेरै हुने मन्त्रालयको रूपमा व्याख्या गरिन्छ । त्यसैले, सुशासनको मुद्दा बोकेर आएका गुरुङलाई मन्त्रालय सुधार गर्ने मात्र होइन, प्रहरीहरूको खस्किएको मनोबल उकास्ने जिम्मेवारी आएको छ ।

राजनीतिक हस्तक्षेपले थिलथिलो भएको प्रहरी प्रशासनभित्र भ्रष्टाचार पनि ठूलो रोग रहेको छ । राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले थलिएको प्रहरी २३ र २४ भदौको जेन–जी आन्दोलनले झन् सकसमा परेको छ । प्रहरीको गिरेको आत्मबललाई उकास्नुपर्ने बाध्यता मात्र होइन, समाजमा बढ्दो स्वच्छन्दताको नियन्त्रण पनि गुरुङको हातमा आइपरेको छ । त्यसैले, गृहमन्त्री भएसँगै गुरुङ जिम्मेवारीले थिचिएका छन् । सुशासन कायम गर्नुपर्ने बाध्यतामा छन् । अनि परिपक्क नेतृत्वको उदाहरण पेश गर्नुपर्नेछ ।
२०७२ को भूकम्पपछि सामाजिक क्षेत्रमा जोडिएका गुरुङ निमुखाहरूका लागि दरिलो टेको बनेका थिए । थुप्रै सामाजिक संस्थाहरूको साथमा उनले हामी नेपाल नामक संस्थाबाट सामाजिक काममा सक्रिय रहेनन्, विपत्‌मा उद्धार टोलीको रूपमा काम पनि गरे ।

मन्त्रीहरू छनोटमा पनि उनको भूमिका थियो । प्रधानमन्त्रीमा सुशीला कार्कीलाई ल्याउनेदेखि कुलमान घिसिङलाई मन्त्रीका लागि मनाउने, महावीर पुनलाई जोड्नेसम्मको काममा सक्रिय भएका थिए ।

गत २४ भदौपछि सामाजिक जीवनबाट एक्कासि राजनीतिक जीवनमा ओर्लिएपछि निरन्तर चर्चामा छन् । यो ६ महिनामा उनले राजनीतिलाई आफ्नो केन्द्रमा राखेका छन् । त्यतिबेला मन्त्रीहरू छान्ने भूमिकामा देखिएका गुरुङबीचमा रवि लामिछाने, बालेन शाहदेखि कुलमान घिसिङसम्मलाई एकजुट बनाउने भूमिका लागे । रास्वपालाई बलियो बनाउन उनले लामिछानेलाई नख्खु कारागारमा भेटेर नै भूमिका बनाएका थिए । अनि, रविलाई छुटाउने भूमिकामा पनि सक्रिय थिए । रास्वपामा बालेनलाई जोड्न भूमिकामा पनि गुरुङ सक्रिय थिए । त्यति मात्र होइन, कुलमान घिसिङलाई पनि दबाब दिएरै रास्वपामा जोडेका थिए ।
गुरुङ २१ फागुनको चुनावमा गोरखा– १ बाट निर्वाचित भए ।